अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-तत्काल भेनेजुएला छाड्नु


वासिङटन । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल भेनेजुएला छोड्न आग्रह गरेको छ । राष्ट्रपति निकोलास मादुरो पक्राउ परेको एक साता बित्न नपाउँदै सशस्त्र अर्धसैनिक समूहहरूले अमेरिकी नागरिकको खोजी गरिरहेको खबर आएपछि यस्तो चेतावनी दिइएको हो ।

शनिबार जारी सुरक्षा सूचनामा अमेरिकी विदेश मन्त्रालयले सरकार समर्थक मिलिसिया ‘कोलेक्टिभोस’ का सशस्त्र सदस्यहरूले विभिन्न स्थानमा चेकपोइन्ट राखी सवारीसाधन रोकेर यात्रुहरू अमेरिकी नागरिक वा समर्थक हुन् कि होइनन् भनेर जाँच गरिरहेको जानकारी आएको जनाएको छ।

विदेश मन्त्रालयले भेनेजुएलामा रहेका अमेरिकी नागरिकलाई सडक यात्रा गर्दा अत्यधिक सतर्कता अपनाउन आग्रह गर्दै केही अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएकाले तत्काल देश छोड्न सल्लाह दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा भेनेजुएला भ्रमण गर्न चाहेको बताएका थिए। तर विदेश मन्त्रालयको पछिल्लो सूचनाले गत साता भएको विशेष सैन्य कारबाहीपछि देशको सुरक्षा अवस्था अझै अस्थिर रहेको संकेत गरेको छ, जस क्रममा धेरै मानिसको ज्यान गएको बताइएको छ।

मादुरो शासनका विपक्षीहरूले उनको पक्राउलाई स्वागत गरेका छन् भने सरकार समर्थकहरूले यसलाई साम्राज्यवादी हस्तक्षेप भन्दै विरोध प्रदर्शन गरेका छन् ।

यता, भेनेजुएलाको परराष्ट्र मन्त्रालयले अमेरिकी चेतावनीलाई अस्वीकार गर्दै जोखिमको अतिरञ्जित चित्रण गरिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार देशमा शान्ति, अमन र स्थायित्व कायम छ र सुरक्षा संयन्त्र सामान्य रूपमा सञ्चालनमा छन्।

तर कराकसका पत्रकार तथा अधिकारकर्मीहरूले राजधानीमा सशस्त्र मिलिसियाका सदस्यहरूको गतिविधि बढेको र विभिन्न स्थानमा चेकपोइन्ट स्थापना गरिएको देखिएको बताएका छन्।

यसैबीच, कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो पक्राउ परे पनि अमेरिकासँग सम्बन्ध सुधार्ने इच्छा व्यक्त गरेकी छन्। उता, पदच्युत नेता मादुरोले आफू अमेरिकी हिरासतमा सुरक्षित रहेको सन्देश परिवारमार्फत सार्वजनिक गरेका छन्।