युक्रेनबारे रुससँग वार्ता गर्ने समय आएको इटालीका प्रधानमन्त्रीको भनाइ


रोम । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेन युद्ध अन्त्य गर्न युरोपेली सङघ इयूले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नुपर्ने बताएकी छन् ।

‘मलाई लाग्छ युरोपले रुससँग वार्ता गर्ने समय आएको छ,’ उनले नयाँ वर्षको अवसरमा गरिएको पत्रकार सम्मेलनमा भनिन् ।

‘यदि युरोपले चलिरहेको वार्ताको यस चरणमा भाग लिने निर्णय गर्यो भने यसमा संलग्न पक्षहरूमध्ये एकसँग मात्र कुरा गरेर यसले गर्न सक्ने सकारात्मक योगदान सीमित छ । म फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भनाइसँग सहमत छु ।’

म्याक्रोँले डिसेम्बरमा युक्रेनमा युद्धमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संलग्न हुन युरोपको लागि यो समय ‘उपयोगी’ हुने बताएका थिए ।

मस्कोको सन् २०२२ फेब्रुअरीको आक्रमणपछि इयू र रुसबीचको सम्पर्क पूर्णरूपमा अवरूद्ध भएपछि वाशिङ्गटनले द्वन्द्व अन्त्य गर्न वार्तामा नेतृत्व लिएको छ ।

यसले गर्दा युरोपेली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई आकार दिन हताश भएका छन् । मेलोनीले वार्तामा इयूको पक्षमा को सहभागी हुने भन्ने थाहा पाउन कठिन रहेको बताइन् ।

उनले भनिन्, ‘हामीसँग वार्ताको सुरुवातदेखि नै यो समस्या छ । त्यहाँ धेरै आवाजहरू गुजिरहेका छन्, धेरै ढाँचाहरू छन् । रूसलाई हाल जी–७ समूहमा स्वागत गर्ने बारेमा कुरा गर्नु धेरै हतारो हुनेछ ।’

पहिले यो रूससहित जी–८ विकसित राष्ट्रहरूको समूह थियो। युद्ध सुरु भएदेखि नै मेलोनी युक्रेनको कट्टर समर्थक हुन् ।