वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गरेका छन् ।
मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका छन् ।
अमेरिकी राष्ट्रपति र मचाडो बीचको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्कमा लागूऔषध र हतियारको अभियोगमा मुद्दाको सामना गर्न लगेको एक हप्ता पछि हुन लागेको हो ।
गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलामा देशको नेतृत्व गर्ने सामर्थ्य नभएको उल्लेख गर्दै अमेरिकाले भेनेजुएलालाई वर्षौंसम्म नियन्त्रण गर्न सक्ने सुझाव दिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
ट्रम्पले फक्स न्यूजलाई दक्षिण अमेरिकी देश भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा, नयाँ चुनाव गर्ने स्थितिमा नभएको बताएका छन् ।
मचाडोले आफ्नो नोबेल पुरस्कार ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको बताउँदै ट्रम्पले यो आफ्नो लागि सबै भन्दा ठूलो सम्मान हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया