इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी शहरमा सरकारविरुद्ध प्रदर्शन


तेहरान । इरानको राजधानी तेहरानसहित विभिन्न शहरहरूमा सरकारविरुद्ध विशाल प्रदर्शन भएको छ । पछिल्ला वर्षहरूमा धर्मगुरुहरूको सत्ताविरुद्ध भएको यो सबैभन्दा ठूलो शक्ति प्रदर्शनमध्ये एक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार साँझ तेहरान र दोस्रो ठूलो शहर मशहदमा भएका शान्तिपूर्ण प्रदर्शनहरू सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेनन् । अहिले देशभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ ।

प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको पदच्यूतको माग गर्दै नाराबाजी गरेको तथा दिवंगत पूर्व शाहका निर्वासित छोरा रेजा पहलवीको पुनरागमनको आह्वान गरेका छन् । रेजा पहलवीले यसअघि आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आग्रह गरेका थिए ।

मानव अधिकार समूहहरूका अनुसार इरानी मुद्राको अवमूल्यनप्रति उत्पन्न असन्तोषबाट सुरु भएको यो आन्दोलन लगातार १२औँ दिनसम्म जारी छ। यो आन्दोलन इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी सहर तथा गाउँहरूमा फैलिएको बताइएको छ।

अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार कम्तीमा ३४ जना प्रदर्शनकारी—जसमध्ये पाँच जना बालबालिका—र आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। साथै २,२७० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

नर्वेमा आधारित इरान ह्युमन राइट्सले सुरक्षाबलको कारबाहीमा कम्तीमा आठ बालबालिकासहित ४५ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।