बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने सम्भावनाबारे सैन्य विकल्पसमेत समेटिएको ‘विविध रणनीति’ मा छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार डेनमार्कको स्वशासित क्षेत्र तथा नाटो सदस्य मुलुकको अंग रहेको ग्रीनल्याण्डलाई अमेरिकाले ‘राष्ट्रिय सुरक्षा सम्बन्धी प्राथमिकता’का रूपमा लिएको छ।
युरोपेली नेताहरूले डेनमार्कको पक्षमा संयुक्त वक्तव्य जारी गरेको केही घण्टामै ह्वाइट हाउसको प्रतिक्रिया सार्वजनिक भएको हो। आर्कटिक टापुको विषयमा अमेरिकाको बढ्दो चासोप्रति डेनमार्कले निरन्तर असहमति जनाउँदै आएको छ।
ट्रम्पले सुरक्षा कारणले अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको बताउँदै आएका छन् । यसपछि डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाद्वारा संभावित आक्रमण नाटोको अस्तित्वमै गम्भीर चुनौती बन्ने चेतावनी दिइन्।
मंगलबार जारी वक्तव्यमा ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति र उनको टोलीले यस महत्वपूर्ण परराष्ट्र नीति लक्ष्यलाई अघि बढाउन विभिन्न विकल्पबारे छलफल गरिरहेका छन्। स्वाभाविक रूपमा, कमाण्डर–इन–चीफका रूपमा अमेरिकी सेनाको प्रयोग पनि उपलब्ध विकल्पहरू मध्ये एक हो।’
सोही दिन ६ युरोपेली सहयोगी राष्ट्रहरूले डेनमार्कप्रति समर्थन जनाउँदै संयुक्त वक्तव्य जारी गरेका छन् । ‘ग्रीनल्याण्ड त्यहाँका जनताको हो, र उनीहरूको आपसी सम्बन्धबारेका निर्णय ग्रीनल्याण्ड र डेनमार्कले मात्र गर्न सक्छन्,’ संयुक्त वक्तव्यमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेन्मार्कका नेताहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया