महाथिर अस्पताल भर्ना


क्वालालाम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्याक्चर भएको उनका सहयोगीले जानकारी दिएका छन् ।

सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई होसमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीले बताए ।

उनकाअनुसार उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने अपेक्षा गरिएको छ । बालकनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उहाँ लड्नुभएको सहयोगीले स्पष्ट गरे ।

महाथिरले पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन् । गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उनी अस्पताल भर्ना भएका थिए । यसअघि उनले मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराइसकेका छन् ।

महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन् । उनले सन् १९८१ देखि २००३ सम्म र फेरि २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा उनी विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख बनेका थिए ।