वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी नयाँ नेतृ डेल्सी रोड्रिग्वेजलाई सही कदम नचाले ‘मदुरोभन्दा पनि ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् ।
अमेरिकी पत्रिका द एटलान्टिकलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि उनले सही काम गरिनन् भने उनले निकै ठूलो मूल्य तिर्नेछिन्, सम्भवतः मदुरोभन्दा पनि ठूलो।’
उता, सत्ताच्युत राष्ट्रपति निकोलास मदुरो सोमबार न्यूयोर्कस्थित अदालतमा पेश हुन लागेका छन्। मदुरोमाथि लागूऔषध कारोबार र हतियारसम्बन्धी आपराधिक आरोप लगाइएको छ। अमेरिकाले उनलाई ‘नार्को–आतङ्कवादी शासन’ चलाएको आरोप लगाउँदै आएको छ, तर मदुरोले आरोप अस्वीकार गर्दै आएका छन्।
गत शनिबार कराकासमा भएको हवाई आक्रमणपछि मदुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकामा ल्याइएपछि उत्पन्न परिस्थितिबारे अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको दाबी दोहोर्याए । तर केही डेमोक्रेट सांसदहरूले उक्त कारबाहीलाई ‘युद्धको कार्य’ भएको टिप्पणी गरेका छन्।
ट्रम्पले भेनेजुएलाको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै भने, ‘शासन परिवर्तन होस् वा तपाईं जे भन्नुहोस्, अहिलेको अवस्थाभन्दा राम्रो नै हुन्छ — यसभन्दा खराब त हुनै सक्दैन।’

प्रतिक्रिया