बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन


ढाका । बाङ्ग्लादेशकी पहिलो महिला प्रधानमन्त्री वेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिइन् । उनको उपचारमा खटिएका चिकित्सकहरूले सोमबार राति उनको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको बताएका थिए।

उनलाई लाइफ सपोर्टमा राखिएको थियो। उनको उमेर र समग्र स्वास्थ्य अवस्था राम्रो नरहेका कारण उनलाई एकैपटक धेरै उपचार गर्न सम्भव नरहेको चिकित्सकहरूले बताएका थिए ।

जिया बाङ्ग्लादेशमा सन् १९९१ मा पहिलो पटक सरकार प्रमुख बनेकी थिइन् र बाङ्ग्लादेशमा महिला सरकार प्रमुख बनेको त्यो नै पहिलो पटक थियो। २० वर्षमा भएको देशको पहिलो प्रजातान्त्रिक चुनावमा उनको नेतृत्वमा बीएनपी विजयी भएको थियो ।

जिया सन् २००१ मा प्रधानमन्त्री पदमा फर्किएकी थिइन् र आम चुनावको मुखमा सन् २००६ को अक्टोबर महिनामा उनी पदबाट बाहिरिएकी थिइन् र गत वर्ष प्रधानमन्त्री पदबाट अपदस्थ भएकी अवामी लिगकी नेतृ शेख हसिनासँगको लामो समयदेखिको राजनीतिक प्रतिस्पर्धा र भ्रष्टाचारको आरोपका कारण जियाको राजनीतिक जीवन बिग्रिएको थियो ।

बाङ्ग्लादेशका दिवङ्गत भइसकेका राष्ट्रपति जियाउर रहमानकी पत्नी जिया सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पाँच वर्षका लागि जेलमा परेकी थिइन् ।

उनीमाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक रुपमा प्रेरित रहेको बताउने गरेकी थिइन् ।