मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिएका छन् ।र रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।
आरटीको रिपोर्टअनुसार राष्ट्रपति पुटिनले भने, ‘यदि किएभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।’
उनका अनुसार रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार अघि बढिरहेको र रुसी सेनाले डोनबास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको छ ।
राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गरेका हुन् । तास समाचार एजेन्सीका अनुसार उनले जापोरिजिया क्षेत्रमा गुलाइपोल र डोनेट्स्क पिपल्स रिपब्लिक (डिपिआर) अन्तर्गत दिमित्रोभ क्षेत्र मुक्त गरिएकोबारे जानकारी लिएका थिए ।
आरटीको रिपोर्टमा उल्लेख गरिएअनुसार राष्ट्रपति पुटिन र जनरल स्टाफ प्रमुखका टिप्पणीले किएभका सत्ताधारी नेताहरू द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न ‘कुनै हतारमा नरहेको’ सङ्केत गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने चार वर्षदेखि जारी युद्धका क्रममा रुसले कब्जा गरेको भूभाग र जापोरिजिया आणविक ऊर्जा संयन्त्र (जेडएनपिपी) युक्रेनका लागि ‘रेड लाइन’ भएको दोहोर्याएका छन् ।
उनले ती विषयमा कुनै पनि संवेदनशील निर्णय जनमतसङ्ग्रह वा विधायी प्रक्रियामार्फत युक्रेनी जनताको परामर्शबिना सम्भव नहुने स्पष्ट पारेका छन् । यी टिप्पणी उनले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटअघि गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समा पोस्टहरूको शृङ्खलामार्फत राष्ट्रपति जेलेन्स्कीले अमेरिका प्रस्थान गर्ने क्रममा युक्रेनले भविष्यको कुनै पनि समाधानमा अझै नसुल्झिएका मुद्दाहरू कम गर्ने प्रयास गरिरहेको उल्लेख गरेका छन् । तर उनका अनुसार क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा संयन्त्र र राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित विषयहरू अत्यन्त संवेदनशील छन् ।

प्रतिक्रिया