बीबीसी । युक्रेनकी राजधानी किएभमाथि शुक्रबार राति भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणले रूस शान्ति प्रक्रियामा गम्भीर नभएको संकेत दिएको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका छन् ।
फ्लोरिडा जाँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा अमेरिकी र युक्रेनी दूतहरूबीच सहमति भएको २० बुँदे शान्ति योजनाबारे छलफल हुने जानकारी दिए।
स्थानीय अधिकारीका अनुसार करीब १० घण्टा जारी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। आक्रमणका कारण ऊर्जासम्बन्धी पूर्वाधारणमा ठूलो क्षति पुग्दा किएभ तथा वरपरका क्षेत्रमा करिब ४० प्रतिशत आवासीय भवन विद्युतविहीन बनेका छन्।
रूसी रक्षा मन्त्रालयले लामो दूरीका सटीक हतियार प्रयोग गरी ऊर्जा संरचनालाई लक्ष्य बनाइएको दाबी गर्दै ती संरचनाहरू युक्रेनी सुरक्षा बल तथा सैन्य–औद्योगिक इकाइहरूको हितमा प्रयोग भइरहेको आरोप लगाएको छ।
जेलेन्स्कीले टेलिग्राममा लेख्दै रूसले किएभतर्फ झन्डै ५०० ड्रोन र ४० क्षेप्यास्त्र प्रक्षेपण गरेको उल्लेख गरेका छन्। उनका अनुसार आक्रमणका धेरै निशाना नागरिक र ऊर्जासम्बन्धी पूर्वाधार रहेका छन् ।
आक्रमणपछि सार्वजनिक भएका तस्बिरहरूमा आगलागी भएका घर तथा क्षतिग्रस्त आवासीय भवनहरू देखिएका छन्।

प्रतिक्रिया