ब्राजिल । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई अस्थायी रूपमा रिहा गरिएको र बुधबार राजधानी ब्रासिलियामा शल्यक्रियाका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।
बोल्सोनारोको शल्यक्रियाका लागि उनलाई अस्पताल लैजाँदा केही काला कारको लस्करलाई मोटरसाइकलले पहरा दिँदै डीएफ स्टार अस्पतालको पार्किङ ग्यारेजमा प्रवेश गरेको एएफपीका पत्रकारहरूले बताए ।
उनलाई अस्पतालमा कति समय राख्नु्पर्ने हो अझै स्पष्ट छैन। गत हप्ता एक विशेषज्ञ समूहको समीक्षाले यो शल्यक्रिया चिकित्सकीय रूपमा आवश्यक रहेको बताएपछि उनको उपचारको लागि सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले जेलबाट बाहिर निस्कन अनुमति दिएका थिए ।
सन् २०१८ को राष्ट्रपतीय चुनावी अभियानका क्रममा ७० वर्षीय बोल्सोनारोको पेटमा छुरा प्रहार भएपछि उनी यससँग सम्बन्धित स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । हालै, उनलाई छालाको क्यान्सर भएको पनि पत्ता लागेको थियो ।
उनको पेटको मांसपेशी च्यातिएपछि कम्मर र तीघ्राबीचको भाग (ग्रोइन) क्षेत्रमा फैलिएको ‘इन्गुइनल हर्निया’ को उपचारको लागि आज उनको शल्यक्रिया हुनेछ ।
बोल्सोनारोको गत अप्रिलमा डीएफ स्टारमा अर्को शल्यक्रिया गरिएको थियो । गत नोभेम्बरको अन्त्यतिरदेखि २७ वर्षको जेल सजायका लागि उनले ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा जेल जीवन बिताउँदै आएका छन् ।
सन् २०१९ देखि २०२२ सम्म पदमा रहेका उनलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पदभार ग्रहण गर्नबाट रोक्ने र सत्ता कायम राख्ने योजनाको नेतृत्व गरेको आरोपमा दोषी ठहर भएपछि सेप्टेम्बरमा सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया