वाशिङ्टन । भेनेजुएलानजिक अर्को एक तेल ट्यांकरको अमेरिकी तटरक्षक बलले सक्रिय खोजी गरिरहेको जनाएको छ । यससँगै क्षेत्रीय तनाव थप चर्किँदै गएको छ ।
अमेरिकी अधिकारीहरूले यस महिनामै दुई वटा तेल ट्यांकर जफत गरिसकेका छन्, जसमध्ये एउटा शनिबार नियन्त्रणमा लिइएको थियो । आइतबार भइरहेको खोजी भेनेजुएलाले अवैध रूपमा प्रतिबन्ध छल्न प्रयोग गरिरहेको ‘डार्क फ्लीट’ अन्तर्गतको जहाजसँग सम्बन्धित रहेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
वाशिङ्टनले भेनेजुएलाले तेलबाट आर्जन गरेको रकम लागुऔषधसम्बन्धी अपराधमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ । तर भेनेजुएलाले ट्यांकर जफतलाई ‘चोरी र अपहरण’ भनेको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धित तेल ट्यांकरहरू देशभित्र आउन–जान रोक लगाउने ‘नाकाबन्दी’ आदेश दिएका थिए । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले ट्रम्प प्रशासनले आफ्ना प्राकृतिक स्रोत लुट्न खोजेको आरोप लगाएको छ ।
आइतबारको खोजीबारे अमेरिकी अधिकारीहरूले औपचारिक पुष्टि गरिसकेका छैनन् । खोजीमा परेको ट्यांकरको ठ्याक्कै स्थान र नाम पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
ट्यांकरट्र्याकर्स डटकमको तथ्यांकअनुसार, गत सातासम्म भेनेजुएलाको पानीमा रहेका वा देशतर्फ आउँदै गरेका ८० जहाजमध्ये ३० भन्दा बढी अमेरिकी प्रतिबन्धमा परेका थिए ।
शनिबार पानामाको झण्डा फहराएको एक ट्यांकरलाई अन्तर्राष्ट्रिय पानीमै विशेष रणनीतिक टोलीले नियन्त्रणमा लिएको थियो । उक्त जहाज अमेरिकी कोष मन्त्रालयको प्रतिबन्ध सूचीमा नभए पनि त्यसले ‘प्रतिबन्धित पीडीभीएसए तेल’ बोकेको अमेरिकाको दाबी छ ।
भेनेजुएला सरकारी खर्च धान्न तेल निर्यातबाट प्राप्त आम्दानीमा अत्यधिक निर्भर छ । पछिल्ला हप्ताहरूमा अमेरिकाले क्यारेबियन सागर क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ र लागुऔषध तस्करीमा संलग्न भनिएका भेनेजुएलाली डुङ्गामाथि आक्रमण गर्दा करिब १०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया