ताइपेइ ‘मेट्रो’ मा गरिएको छुरा प्रहारमा ‘आतङ्कवाद’ को आशङ्का गर्ने आधार नभेटिएको प्रहरीको भनाइ


ताइपेइ । ताइवान प्रहरीले ताइपेइमा ‘मेट्रो’ मा छुरा प्रहारमा ‘आतङ्कवादी’ हमला भएको आधारहरू नभेटिएको जनाएको छ।

शुक्रबार दिउँसो एक आक्रमणकारीले ताइपेइ मेन स्टेशनमा रहेको ‘मेट्रो’मा गरेको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

चाङको नामले चिनिने एक २७ वर्षीय युवकले ‘धुँवा बम’ विस्फोट गराएपछि धारिलो हतियारको प्रयोग गरी मेट्रोमा रहेका मानिसहरूमाथि आक्रमण गरेको बताइएको छ। त्यसपछि आक्रमणकारी झोङसान स्टेशन नजिकैको बजारतर्फ भागेको अधिकारीहरूले बताएका छन् ।

ताइपेइ शहर प्रहरी विभागका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीसँग भने, “अनुसन्धानमा हामीले अहिलेसम्म जे निश्कर्ष स्थापित गरेका छौँ त्यसका आधारमा संदिग्ध चाङले राजनीति, धर्म वा कुनै विशेष विचारधारासँग सम्बन्धित कुनै बयान वा विचार प्रदर्शन गरेको भेटिएन । यसका आधारमा हामीले आक्रमणमा ‘आतङ्कवाद’ को आशङ्कालाई अस्वीकार गरेका छौँ ।”

“आतङ्कवादी आक्रमणको एक विशिष्ट परिभाषा हुन्छ र संदिग्धको गतिविधिबाट त्यो परिभाषा पूरा हुँदैन,” उनले भने ।

ताइपेइका नगर प्रमुख च्याङ वान–आनले सोही दिन ती संदिग्ध व्यक्ति नजिकैको भवनबाट हाम फालेपछि मृत फेला परेको बताए ।

वरिष्ठ प्रहरी अधिकारीले अन्वेषकहरूले चाङको आईप्याडमा ‘हत्या’ सम्बन्धमा गरिएको खोजीको प्रमाण फेला पारेको छ । खोजीमा आक्रमणकारीले सन् २०१४ मा चार व्यक्तिको हत्या भएको ताइपेइ मेट्रो छुरा प्रहारसँग सम्बन्धित सामग्री पनि हेरिएको देखिन्छ ।

चाङले सेनामा सेवा गरेका थिए तर रक्सीको नशामा गाडी चलाएको कारण उनलाई सेवामुक्त गरिएको प्रहरीले जनाएको छ ।

ताइवानले ती पूर्व सैनिकलाई पदबाट हटेको आठ वर्षसम्म ७ देखि १४ दिनको रिजर्भ तालिम लिनुपर्ने व्यवस्था छ । यो तालिम नलिएमा भगौडा सनिक (सैन्य सेवाको छली) को रूपमा लिइन्छ ।

शुक्रबारको चक्कु प्रहारको लगत्तै अधिकारीहरूले आक्रमणलाई ‘जानाजानी गरेको आक्रमण’ भनेका थिए तर उद्देश्य स्पष्ट नभएको बताएका थिए ।

चाङले हत्याको योजना एक्लै बनाएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । उनले ‘जथाभावी मानिसहरूलाई मार्ने’ योजना बनाएर जनवरीमा ताइपेइको एक अपार्टमेन्ट भाडामा लिएर बस्दै आएको अनुसन्धानले देखाएको छ।

“शहरमा आइतबार प्रहरी तैनाथी दोब्बर पारिएको छ र नयाँ वर्षको पूर्वसन्ध्या अघि मेट्रो स्टेशनहरूमा जाँचलाई ‘तीव्र’ गरिनेछ,” नगरप्रमुख च्याङले भने ।

ताइपेइ मेट्रोले झोङसान स्टेशन नजिकै रहेको क्रिसमस बजार मृतकहरूको सम्मानमा तीन दिन बन्द गरेको घोषणा गरेको छ ।