शेख हसिनाका विरोधीको गोली हानी हत्या गरेपछि बंगलादेशमा भड्कियो हिंसा


बीबीसी । बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने युवा आन्दोलनका एकजना प्रमुख नेताको मृत्युपछि त्यहाँ हिंसा चर्किएको छ ।

शरिफ ओस्मान हादीलाई गत साता ढाकाको एउटा मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र बिहीवार सिङ्गापुरमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

सन् २०२४ मा भएको आन्दोलनपछि बाङ्ग्लादेशका अधिकारीहरूले पहिलो पटक चुनावको मिति घोषणा गरेको एक दिनपछि गोलाबारी भएको हो। चुनावमा हादीले स्वतन्त्र उम्मेदवारको रूपमा लड्ने योजना बनाइरहेका थिए ।

बिहीवार उनको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै उनका सयौँ समर्थकहरू राजधानीको एउटा चोकमा विरोध प्रदर्शन गर्न भेला भएका छन् । पछि प्रदर्शनकारीहरूले बाङ्ग्लादेशका अग्रणी पत्रिका द डेली स्टार र प्रोथोम अलीको कार्यालयमा तोडफोड गरे जसमध्ये एउटा भवनमा आगजनी गरियो ।

घटनास्थलमा सेना तैनाथ गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूलाई उद्धार गरेका थिए । ३२ वर्षीय हादी प्रदर्शनकारी विद्यार्थीहरूको समूह इन्कलाब मञ्चका एकजना वरिष्ठ नेता र छिमेकी भारतका एक स्पष्ट आलोचक थिए ।

बाङ्ग्लादेशका राजनीतिक दलहरूले उनको निधनमा शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन् । नोबर पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्यु ‘देशका लागि अपूरणीय क्षति’ भएको बताएका छन् । अन्तरिम सरकारले शनिबार राष्ट्रिय शोकको घोषणा गरेको छ।