अष्ट्रेलिया सरकारद्वारा बन्दुक फिर्ता खरिद योजना घोषणा


क्यानबेरा । अष्ट्रेलिया सरकारले बोन्डी बीचमा भएको घातक आक्रमणपछि बन्दुक फिर्ता खरिद योजना घोषणा गरेको छ । दशकौँयताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्ड मानिएको उक्त आक्रमणमा १५ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

यो योजना सन् १९९६ को पोर्ट आर्थर नरसंहारपछि लागू गरिएको कडा बन्दुक नियन्त्रण उपायपछिको सबैभन्दा ठूलो बाइब्याक योजना हो । आइतबार यहूदी महोत्सवका क्रममा ‘इस्लामिक स्टेट विचारधाराबाट प्रेरित’ भएको आशंका गरिएका दुई बन्दुकधारीले गोली चलाएका थिए।

प्रहरीका अनुसार आतंकवादी घटना घोषित उक्त आक्रमण बाबु–छोराको जोडीले गरेको हो। २४ वर्षीय नविद अक्रममाथि १५ वटा हत्या अभियोगसहित ५९ अभियोग लगाइएको छ। उनका पिता साजिद आक्रमणकै क्रममा मारिएका थिए।

गोलीकाण्डपछि बसेको क्याबिनेट बैठकले बन्दुक नियन्त्रण कडा बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजका अनुसार हाल अष्ट्रेलियामा चार मिलियनभन्दा बढी बन्दुक छन्, जुन पोर्ट आर्थर घटनाको समयभन्दा धेरै हो।

नयाँ योजनाअन्तर्गत अनावश्यक, प्रतिबन्धित र अवैध बन्दुकहरू सरकारद्वारा खरिद गरिनेछ। खर्च संघीय सरकार र राज्य/क्षेत्र सरकारहरूले ५०–५० प्रतिशतमा व्यहोर्नेछन्। सरकारले सयौँ हजार बन्दुक संकलन गरी नष्ट गरिने अनुमान गरेको छ।

क्याबिनेटले एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्यामा सीमा, खुला अवधिको लाइसेन्समा कडाइ, कानुनी बन्दुकका प्रकारमा प्रतिबन्ध तथा बन्दुक लाइसेन्सका लागि अष्ट्रेलियन नागरिकता अनिवार्य गर्ने निर्णय पनि गरेको छ।