मस्को । रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी ‘काराकास’ सँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा प्रतिबन्धित तेल ट्याङ्करहरूको नाकाबन्दी गर्न यसै हप्ता आदेश दिएका थिए । यसले वासिङ्टन र भेनेजुएलाका वामपन्थी नेता निकोलस मदुरोको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देशबीच नयाँ तनाव बढेको सङ्केत गरेको छ ।
भेनेजुएलाले आफ्नो कच्चा तेलको निर्यातमा कुनै असर नपरेको दाबी गर्दै आएको छ । नेता मदुरो ‘क्रेमलिन’ को सहयोगी मानिन्छन् । उनी वर्षौँदेखि मस्कोमा नियमित पाहुना हुँदै आइरहेका छन् ।
ह्वाइट हाउसलाई भेनेजुएलामा कुनै पनि ‘घातक गल्ती’ गर्न मस्कोको विदेश मन्त्रालयले अनुमति नदिने विश्वास व्यक्त गरेको छ ।
‘सम्पूर्ण पश्चिमी गोलार्धमा अप्रत्याशित परिणामहरूको खतरा हुने स्थितिबाट अमेरिका थप चिप्लिनबाट जोगिनेछ ।’ विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
उसले ‘तनाव कम गर्न’ वार्ताका लागि आह्वान गरेको छ र मदुरोको सरकारलाई समर्थन गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी यस क्षेत्रका सबै देशहरूलाई संयम अपनाउन आग्रह गर्दछौँ ताकि स्थितिमा कुनै पनि अप्रत्याशित विकास हुन नसकोस् ।’
यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलालाई दक्षिण अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो अर्मादाले घेरिएको बताएका थिए ।
क्रेमलिनले विगतमा भेनेजुएलाको सङ्घर्षरत अर्थतन्त्रलाई उकास्न मद्दत गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिनाको सुरुमा मदुरोलाई फोन गरी आफ्नो समर्थन जारी रहने दोहोर्याएका थिए ।

प्रतिक्रिया