बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ मा ’प्यानोरमा’ले उत्पादन गरेको एउटा वृत्तचित्रबाट आफ्नो मानहानि भएको भन्दै बीबीसीविरुद्ध मुद्दा हालेका छन् ।
अमेरिकाको फ्लोरिडा राज्यमा मुद्दा दर्ता गर्दै उनले अर्बौँ डलर क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । ट्रम्पले अदालतमा पेस गरेको कागजपत्रका अनुसार बीबीसीले मानहानि गरेको र व्यावसायिक अभ्यासको कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।
प्रत्येक दाबीका लागि आफूले पाँच अर्ब अमेरकी डलर पाउनुपर्ने उनको माग छ । गत नोभेम्बरमा ट्रम्पले ६ जनवरी २०२१ मा गरेको भाषणको सम्पादन गर्दा त्रुटि भएको बीबीसीले स्वीकार गरेको थियो। सो विषयमा बीबीसीले ट्रम्पसँग माफी मागेको थियो तर क्षतिपूर्तिको माग भने अस्वीकार गर्दै ‘मानहानि दाबीका लागि कुनै आधार’ नरहेको जनाएको थियो ।
ट्रम्पका वकिलहरूको टोलीले बीबीसीमाथि ‘जानाजान, दुर्भावनापूर्वक र छलपूर्वक उनको भाषणलाई सम्पादन गरेर’ उनलाई बदनाम गरेको आरोप लगाएको छ। बीबीसीले मानहानिको मुद्दा दर्ता भएकोमा अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
उनले आफ्नो मानहानि भएको दाबी गरेको वृत्तचित्र सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनभन्दा अगाडि बेलायतमा प्रसारण भएको थियो।

प्रतिक्रिया