रोयटर्स । अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।
घटनापछि शंकास्पद बन्दुकधारी फरार रहेकाले प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको अधिकारीहरूले बताएका छन् । गोलीकाण्डपछि क्याम्पस वरपरका सडकहरू घण्टौँसम्म बन्द राखिएका छन् भने प्रहरीले सहरभर सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रहरीका अनुसार कालो कपडा लगाएका एक पुरुष शंकास्पदको खोजी भइरहेको छ र आसपासका क्षेत्रका सीसीटीभी तथा अन्य भिडियो फुटेज जाँच भइरहेको छ ।
अधिकारीहरूका अनुसार परीक्षा चलिरहेको बेला ब्राउन विश्वविद्यालयको बारस एन्ड होली इन्जिनियरिङ भवनमा गोली हानिएपछि बन्दुकधारी फरार भएको हो ।
प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले पत्रकार सम्मेलनमा भने, ‘क्रिसमस आउन अझै डेढ हप्ता बाँकी छ। आज दुई जनाको ज्यान गएको छ र आठ जना अस्पतालमा उपचाररत छन्। ती परिवारहरूका लागि प्रार्थना गरौँ।’
उनीहरु विद्यार्थी थिए वा थिएनन् भन्ने विषयमा हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन । रोड आइल्याण्डको राजधानी प्रोभिडेन्सको कलेज हिल क्षेत्रमा अवस्थित ब्राउन विश्वविद्यालयमा लेक्चर हल, प्रयोगशाला र छात्रावाससहित सयौँ भवनहरू छन् ।

प्रतिक्रिया