अमेरिकाले डोनेट्स्कको अग्रमोर्चामा ‘विशेष आर्थिक क्षेत्र’ प्रस्ताव गरेको जेलेन्स्कीको दाबी


बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले पूर्वी डोनेट्स्कका केही क्षेत्रमा युक्रेनी सेना फिर्ता भई त्यहाँ ‘विशेष आर्थिक क्षेत्र’ वा ‘असैन्य क्षेत्र’ स्थापना गर्ने प्रस्ताव अघि सारेको बताएका छन् ।

जेलेन्स्कीका अनुसार अमेरिकाको शान्ति प्रस्तावमा अझै दुई प्रमुख विवादित विषय बाँकी छन्—रूसी कब्जामा रहेको जापोरिझ्झिया आणविक विद्युतगृहको नियन्त्रण र त्यसमाथिको सार्वभौम अधिकार ।
पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले युद्ध चाँडो टुंग्याउन चाहेको तर वार्ता अत्यन्त जटिल बनेको बताए । उनले रुसले युद्ध अन्त्य गर्ने कुनै इच्छा नराखेको पनि दोहोर्याए।

युक्रेनले अमेरिकालाई २० बुँदे अद्यावधिक योजना, सुरक्षा प्रत्याभूति र पुनर्निर्माणका छुट्टाछुट्टै कागजातहरू बुझाएको जेलेन्स्कीले जानकारी दिए। पछिल्ला केही हप्ताहरू अमेरिकी, युक्रेनी, रूसी तथा युरोपेली नेताहरुबीच केन्द्रित कूटनीतिक छलफलमै बितेका छन्।

रुसले डोनेट्स्क क्षेत्रको करिब ३० प्रतिशत भूभाग युक्रेनले छाड्नुपर्ने अडान राख्दै आएको छ, जुन कीभले अस्वीकार गर्दै आएको छ। जेलेन्स्कीका अनुसार, अमेरिकाले हाल कल्पना गरेको मोडलअनुसार युक्रेनी सेना डोनेट्स्कका केही भागबाट फिर्ता हुने र रुसले त्यहाँ अघि नबढ्ने प्रतिबद्धता गर्नेछ। उक्त क्षेत्रलाई ‘विशेष आर्थिक क्षेत्र’ वा ‘असैन्य क्षेत्र’का रूपमा घोषणा गर्ने प्रस्ताव रहेको उनले बताए।

यद्यपि उनले युक्रेन मात्र एकतर्फी रूपमा फिर्ता हुनुपर्ने प्रस्तावलाई अन्यायपूर्ण बताउँदै रुसले पनि बराबरी रूपमा फिर्ता हुनुपर्ने आवश्यकतामा जोड दिए।

जेलेन्स्कीले यस्ता सुरक्षा चिन्ताका कारण युक्रेनले प्रस्ताव अस्वीकार गर्न सक्ने संकेत दिए, तर जनमतसंग्रह वा चुनावमार्फत जनताको मत लिन सकिने विकल्प पनि खुला रहेको बताए।

उनका अनुसार जापोरिझ्झिया आणविक विद्युत्गृहको नियन्त्रण अर्को अत्यन्त संवेदनशील मुद्दा हो । युरोपकै सबैभन्दा ठूलो यो प्लान्ट अग्रमोर्चामै पर्ने र २०२२ मार्चदेखि रूसी नियन्त्रणमा रहेको छ। सम्भावित समाधानका रूपमा रुस फिर्ता हुने र अमेरिकासँग मिलेर संयन्त्रको संयुक्त व्यवस्थापन गर्ने विकल्पबारे चर्चा भइरहेको उनले बताए । तर उक्त प्रस्तावमा रुस सहमत हुने सम्भावना कम छ।