‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रमअन्तर्गत १० लाख डलर तिरे अब अमेरिका जान पाइने


वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’नामक नयाँ भिसा कार्यक्रम औपचारिक रूपमा घोषणा गरेका छन् । जसअन्तर्गत विदेशी नागरिकले १० लाख डलर तिरेर आफ्नो भिसा आवेदन छिटो प्रक्रिया गर्न सक्नेछन्।

त्यस्तै, अमेरिकी कम्पनीहरूले २० लाख डलर तिरेर विदेशी कामदारलाई स्पोन्सर गर्न पाउनेछन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘मेरो र देशको लागि यो निकै रोमाञ्चक क्षण हो—हामीले ‘ट्रम्प गोल्ड कार्ड’ सुरु गरेका छौँ।’

यसैसन्दर्भमा trumpcard.gov नामक आधिकारिक वेबसाइट पनि सार्वजनिक गरिएको छ, जसमा ‘रेकर्ड समयमै अमेरिकी आवासीय अनुमति’ दिने दाबीसहित आवेदन फारम समावेश छ। वेबसाइटअनुसार, १५ हजार डलरको डिएचएस् प्रोसेसिङ शुल्क भुक्तानी गरी पृष्ठभूमि जाँच पार गरेपछि १० लाख डलरको योगदान रकम तिरेमा भिसा तीव्र गतिमा प्रक्रियामा जानेछ । यसका लागि आवश्यक कागजातहरू बुझाइसकेपछि भिसा प्रक्रिया ‘केही हप्ताभित्र’ पूरा हुनेछ।

यस अवधिमा एक अन्तर्वार्ता तथा आवश्यक थप कागजातहरू बुझाउनुपर्नेछ। आवेदकको आधारमा राज्य विभागका अतिरिक्त शुल्क लाग्न सक्ने उल्लेख छ । सफल आवेदकलाई इबी–१ वा इबी–२ श्रेणीअन्तर्गत वैध स्थायी आवासीय अनुमति प्रदान गरिनेछ ।यी श्रेणी ती व्यक्तिलाई दिइने रोजगार–आधारित भिसा हुन्, जसले ‘असाधारण’ वा ‘विशेष’ क्षमता प्रमाणित गरेका हुन्छन्।