बीबीसी । अमेरिकाको सैन्य फौजले भेनेजुएलाको तटपारि एक विशाल तेल ट्याङ्कर कब्जा गरेपछि केही महिनादेखि तनावग्रस्त रहँदै आएको दुई देशको सम्बन्ध थप बिग्रिएको छ ।
अमेरिकाकी महान्यायाधिवक्ता प्याम बन्डीले उक्त पानीजहाज विदेशी आतङ्ककारी सङ्गठनहरूलाई सघाउन भेनेजुएला र इरानबीच तेल आपूर्ति जस्तो ‘अवैध शिपिङ् सञ्जाल’मा सामेल भएको आरोप लगाएकी छन् ।
तर भेनेजुएलाका अधिकारीहरूले उक्त कब्जालाई ’अन्तर्राष्ट्रिय डकैतीको कार्य’ भनेका छन् । अमेरिकाले केही समययता भेनेजुएला वरपरको क्यारेबिअन क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउँदै लगेको थियो ।
सो क्षेत्रमा उसले ‘अपरेशन सदर्न स्पेअर’ नामक कारबाहीअन्तर्गत लागु औषध तस्करीमा संलग्न भएका भनिएका डुङ्गा तथा जहाजहरूमाथि निरन्तर प्रहार गर्दै आएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र लागुऔषध तस्करी गरेर अमेरिकीहरूलाई मार्ने उद्देश्यले गरिने गतिविधि रोक्ने आफ्नो उद्देश्य भएको बताएका छन् ।
सेप्टेम्बरयता अमेरिकी सेनाले गरेका त्यस्ता प्रहारहरूले २३ वटा जहाज निसानामा परेका छन् भने ८४ जनाको ज्यान गएको छ ।
बुधवार अमेरिकी फौजले भेनेजुएलाली ट्याङ्कर कब्जा गर्नुलाई तनाव थप चर्किएको सङ्केत मानिएको छ। ट्रम्पले त्यस्ता थप कारबाही गर्न लागेको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले विवरण दिएको छ ।

प्रतिक्रिया