गाजायुद्धविरामको दोस्रो चरणबारे छलफल गर्ने नेतान्याहुको घोषणा


जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी गाजाका लागि अमेरिकी मध्यस्थतामा अगाडि बढिरहेको युद्धविरामको दोस्रो चरणबारे छलफल गर्ने घोषणा गरेका छन् ।

अक्टोबर १० मा लागू भएको अमेरिकी मध्यस्थतामा तय युद्धविरामको बावजूद गाजामा पूर्ण शान्ति अझै कायम भएको छैन । दुई वर्षअघि हमास विद्रोहीहरूले इजरायलमाथि हमला गरेपछि यो सम्झौता भएको हो । तर, इजरायल र हमासले एकअर्कालाई उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

नेटान्याहुले भने,“हामी चाँडै दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा राख्छौं, जुन पहिलो चरणभन्दा कठिन हुनेछ ।” उनले ट्रम्पसँग ‘क्षेत्रमा शान्तिका अवसर’ बारे छलफल गर्ने योजना रहेको बताए ।

जर्मनीका चान्सलर फ्रिडरिक मर्जले पनि दोस्रो चरण तुरुन्त सुरु हुनुपर्ने बताए र द्वि–राज्य समाधानतर्फ जर्मनीको समर्थन रहेको स्पष्ट पारे ।

पहिलो चरणमा, प्यालेस्टिन विद्रोहीहरूले बाँकी रहेका ४७ इजरायली बन्धकलाई रिहा गरेका छन् । दोस्रो चरणमा, अमेरिकी प्रस्तावअनुसार इजरायली सेनाको थप फिर्ती मुद्दा समाधान गरिने अपेक्षा छ ।

गाजामा हमासका प्रमुख खालिल अल–हैय्याले भने,“यदि इजरायली कब्जा अन्त्य हुन्छ भने हामी हतियार फिर्ता गर्नेछौं । हाम्रो हतियार कब्जा र आक्रमणसँग जोडिएको छ, र कब्जा अन्त्य भए राज्यलाई हस्तान्तरण गरिनेछ ।”

दोस्रो चरणका लागि हमास र अन्य प्यालेस्टिन समूहका हतियारको विषय अझै छलफलमा छन् । हमासले पहिले शस्त्र त्याग अस्वीकार गरेको थियो भने इजरायलले हमास र अन्य समूहका हतियार फिर्ता गर्नु दोस्रो चरणको मुख्य शर्त बनाएको छ ।

युद्धविरामको अवधि सुरु भए पनि गाजामा ३६० भन्दा बढी प्यालेस्टिन मारिएका छन्, जससँगै प्यालेस्टिन मृतकको सङ्ख्या ७० हजार ३६० पुगेको छ । यसैबीच, तीन इजरायली सैनिकको पनि मृत्यु भएको छ ।