गोवा । भारतको गोवास्थित अर्पोरा गाउँको एक नाइटक्लबमा शनिबार मध्यरात लागेको आगलागीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये केही विदेशी पर्यटक समेत रहेका छन् । भारतीय सञ्चार माध्यम पीटीआईका अनुसार, आगलागी ग्यास सिलिन्डर विस्फोटपछि फैलिएको आशंका गरिएको छ ।
पीडितमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले तीनदेखि चार पर्यटक को मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार घाइतेहरूको उद्धार तथा उपचारका लागि रातभर दमकल र एम्बुलेन्स परिचालन गरिएको थियो ।
मुख्यमन्त्री सावन्तले आगलागीको कारण र आगो सुरक्षा मापदण्ड तथा भवन नियम पालना भएको–नभएकोबारे छानबिनका लागि आदेश दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुःखदायक रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया