अफगानिस्तानमा मानवीय सहायता पठाउन अस्थायी अनुमति दिने पाकिस्तानको तयारी


इस्माबाद । पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बताएका छन् । गत अक्टोबरमा दुई छिमेकीहरू बीच भएको घातक झडप पछि पहिलो पटक आंशिक रुपमा सीमा खोल्न लागिएको उनीहरुले बताएका छन् ।

सन् २०२१ मा तालिबान अधिकारीहरूले काबुलमा पुनः नियन्त्रण लिएदेखि यी देशहरू बढ्दो विवादमा फसेका छन् । अफगानिस्तान सरकारले इस्लामावादले सीमापार आक्रमण गर्ने आतङ्कवादीहरूलाई शरण दिएको आरोप लगाएको छ भने इस्लामावादले आरोपको अस्वीकार गरेको छ ।

“संयुक्त राष्ट्रका एजेन्सीहरूको औपचारिक अनुरोधको जवाफमा पाकिस्तान सरकारले अफगानिस्तानमा सहयोगको आवागमनलाई अनुमति दिने तयारी भएको एक जना सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा बताएको एएफपीले जनाएको छ ।

आपूर्तिमा खाना, औषधि र चिकित्सा उपकरण, र “स्वास्थ्य र शिक्षासँग सम्बन्धित अन्य आवश्यक सामानहरू“ समावेश रहेको अधिकारीले बताएका छन् । अधीकारीका अनुसार सहायता हस्तान्तरण “तीन चरण“ मा हुनेछ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले पनि सहायता चाँडै अफगानिस्तानमा प्रवेश गर्न अनुमति दिइने पुष्टि गरेका छन् ।

अक्टोबरमा भएको द्वन्द्व पछि सीमा बन्द गरिएको छ, भने पाकिस्तानबाट निष्कासन गरिएका अफगानहरूलाई मात्र सीमा पार गर्न अनुमति दिइएको छ ।

पाकिस्तानी अधिकारीले सीमामा सबै व्यापार बन्द रहने र सहायताका लागि आंशिक रूपमा “सशर्त“ खोल्ने बताएका छन् ।

“पाकिस्तानले अफगानिस्तानसँग सामान्य व्यापार वा आप्रवासनका लागि नभई अत्यावश्यक सामाग्री ल्याउनका लागि मात्र अस्थाई रुपमा सीमा खोलेको अधिकारीले प्रस्ट पारेका छन् ।

विश्व ब्याङ्कका अनुसार पाकिस्तान अफगानिस्तानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, जसले चामल, औषधि र कच्चा माल आपूर्ति गर्दछ ।