यदि युरोप हामीसँग लड्न चाहन्छ भने हामी तयार छौँः पुटिन


बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यको लागि युरोपको माग आफूलाई ‘स्वीकार्य नरहेको’ बताएका छन्। मस्कोमा दिएको एक मन्तव्यमा उनले भने, ‘हामी युरोपसँग लड्ने छैनौँ, तर यदि युरोप हामीसँग लड्न चाहन्छ भने हामी अहिले तयार छौँ।’

यसैबीच राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफबीच युक्रेनको शान्ति योजनाको बारेमा मस्कोमा भएको वार्ता बिना उपलब्धि सकिएको छ ।

रुसी वार्ताकारहरूले पाँच घण्टाको बैठकलाई उत्पादक र उपयोगी बताएका छन् । तर क्रेमलिनका सहयोगी युरी उषाकोभले युक्रेनी क्षेत्रको सम्बन्धमा कुनै सम्झौता नभएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले फ्लोरिडामा युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूको बैठकपछि तयार पारिएको पछिल्लो मस्यौदा योजनाका अतिरिक्त रुसले थप चारवटा दस्ताबेज प्राप्त गरेको बताए । विट्कफले अन्य पक्षहरूसँग थप परामर्श गर्ने भन्दै रुस छाडेको बुझिएको छ ।

रुसले सन् २०१४ मा गाभिएको क्राइमिया र साढे तीन वर्षअघि आक्रमण गरेयता बलपूर्वक कब्जा गरिएका अन्य सम्पूर्ण क्षेत्रहरूसहित युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ वार्ताकार बीचको पाँच घण्टाको छलफल युक्रेन शान्ति सम्झौता सुरक्षित गर्ने सम्बन्धमा कुनै सफलता हासिल गर्न विफल भएको देखिन्छ । क्रेमलिनका प्रवक्ताले मस्को बैठक ‘रचनात्मक’ भएको बताए तापनि उक्त शान्ति योजनाका केही अंशहरू रुसलाई अस्वीकार्य रहेको बताए ।

युद्ध अन्त्य गर्ने उद्देश्यले हप्तौँको गहन कूटनीतिक प्रयासहरूपछि ट्रम्पका विशेष दूत स्टीभ विट्कफ र ज्वाइँ जारेड कुश्नर मङ्गलवारको उक्त वार्तामा सहभागी भएका थिए ।

अमेरिकी टोलीले मस्को छाडेयता कुनै टिप्पणी गरेको छैन । सो वार्ताअघि मङ्गलवार पुटिनले किएभ र युरोपले अमेरिका समर्थित शान्ति योजनाको मस्यौदामा प्रस्ताव गरिएका परिवर्तनहरू अस्वीकार्य भएको बताएका थिए।

युक्रेन र उसका सहयोगीहरू अमेरिकालाई शान्ति सम्झौताको मस्यौदा संशोधन गर्न पैरवी गरिरहेका छन् । ह्वाइट हाउसले त्यसमा छिटो सहमति जुटाउन खोजेको छ र क्रेमलिनले यसअघि नै त्यसमा विचार गर्न सकिने सङ्केत गरिसकेको छ ।

गत नोभेम्बरमा सञ्चारमाध्यममा चुहिएपछि व्यापक रूपमा रुस पक्षमा देखिएको उक्त योजनामा हालैका सातामा कैयौँ परिवर्तनहरू भएका छन्।