बीबीसी । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसँग भएका वार्ता ‘उत्पादक’ रहे पनि ‘अझै धेरै काम गर्न बाँकी’ रहेको बताएका छन् ।
फ्लोरिडामा भएको वार्तामा रुबियोले यस्तो बताएका हुन् । वार्ताको युक्रेनतर्फबाट राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का सचिव तथा नयाँ प्रमुख वार्ताकार रुस्तेम उमेरोभले प्रतिनिधिमण्डल नेतृत्व गरेका थिए। बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि सहभागी थिए।
विट्कफ आगामी हप्ता मस्कोमा वार्ताका लागि प्रस्थान गर्ने योजना रहेको बताइएको छ । उमेरोभलाई हालै युक्रेनी राष्ट्रपतिका प्रमुख वार्ताकार आन्द्रिय यर्माकको स्थानमा नियुक्त गरिएको हो । यर्माकले आफ्नो निवासमा भएको भ्रष्टाचारविरोधी छापापछि राजीनामा दिएका थिए ।
आइतबारको बैठक पछिल्लो दुई हप्तादेखि जारी कूटनीतिक सक्रियताको नवीनतम चरण हो । २८ बुँदे अमेरिकी शान्ति योजनाले युक्रेन र उसका युरोपेली साझेदारहरूलाई आश्चर्यचकित पारेको थियो, किनकि त्यसले रुसपक्षीय देखिएको आरोप लागेको थियो।
रुसले करिब चार वर्षअघि युक्रेनमाथि आक्रमण गरेको थियो । ‘यो केवल लडाइँ रोक्ने शर्तहरूको कुरा मात्र होइन,’ रुबियोले भने, ‘यो युक्रेनलाई दीर्घकालीन स्थिरता र समृद्धितर्फ उन्मुख गराउने आधारबारे पनि हो। आज हामीले केही प्रगति गरेका छौँ, तर अझै काम गर्न बाँकी छ।’
रुबियोले युक्रेनी प्रतिनिधिमण्डललाई रुससँगको शान्ति प्रक्रियाको मूल उद्देश्य युक्रेनलाई ‘सार्वभौम, स्वतन्त्र र समृद्ध’ भविष्य प्रदान गर्न रहेको बताए।

प्रतिक्रिया