ट्रम्प प्रशासनले १९ देशका नागरिकको ग्रीन कार्ड पुनरावलोकन गर्ने


वाशिङ्टन । ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आएका ग्रिनकार्डवाला आप्रवासीको पुनः समीक्षा गर्ने घोषणा गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका निर्देशक जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक आप्रवासीलाई जारी गरिएका ग्रिन कार्डहरूको ‘व्यापक र कठोर पुनर्मूल्यांकन’ गर्न निर्देशन दिएका छन् ।

त्यसमा अफगानिस्तान, क्यूबा, हाइटी, इरान, सोमालिया र भेनेजुएलाका नागरिक परेका छन् । त्यस्तै अफ्रिकाका चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, लिबिया, सोमालिया, सुडान, बुरुन्डी, सिएरालियोन, टोगो रहेका छन् भने क्यारिबियन/ल्याटिन अमेरिकाका हैटी, क्युबा र भेनेजुएला रहेका छन् ।

यो घोषणा बुधबार वाशिङ्टन डिसीमा दुई नेशनल गार्ड सदस्यमाथि एक अफगान नागरिकद्वारा गराइएको गोलीकाण्डपछि आएको हो । आरोपित रहमानुल्लाह लाकानवाल २०२१ मा अमेरिका फिर्तापछि अफगानहरूलाई विशेष आप्रवासन सुविधा दिने कार्यक्रमअन्तर्गत अमेरिकामा आएका थिए । घटनामा दुवै सैनिक गम्भीर घाइते भएका छन् ।

राष्ट्रपति ट्रम्पले आक्रमणलाई ‘राष्ट्रका लागि ठूलो सुरक्षा खतरा’ को रुपमा प्रस्तुत गरेका छन्। उनले अघिल्लो प्रशासनले ‘२ करोड अज्ञात र भेरिफाइ नभएका आप्रवासीलाई अमेरिकामा प्रवेश गराएको’ आरोप लगाए ।

पुनः परीक्षण कसरी सञ्चालन हुने भन्नेबारे कुनै थप विवरण दिइएको छैन । ह्वाइट हाउसको जुन महिनाको घोषणाले आतंकवादी जोखिम, राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षाका कारण केही देशका नागरिकको अमेरिकी प्रवेशमा कडाइ गर्ने उद्देश्य औंल्याएको थियो ।