हङकङमा भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ९४ पुग्यो, तीनसय भन्दाबढीको अवस्था अज्ञात


बीबीसी । हङकङमा भएको आगलागीमा मृतकको सङ्ख्या  ९४ पुगेको छ । हङकङको अग्निनियन्त्रक विभागलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या ९४ पुगेको उल्लेख गरेका छन् । घटनामा ७६ जना घाइते भएका छन् ।

जसमा १० जना अग्निनियन्त्रकहरू पनि छन् । ती भवनहरूमा अझै केही मानिस फसेका छन् भने ३०० भन्दा बढी मानिसको अवस्था अज्ञात छ । विगत ७० वर्षयता त्यहाँ भएको आगलागीमध्ये यसलाई सबैभन्दा भीषण मानिएको छ ।

सयौँ अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा लागेका छन्। वाङ्फुक कोर्टस्थित प्रभावित सातमध्ये चारवटा भवनमा आगो नियन्त्रणमा आइसकेको छ। आवासीय भवनहरू भएको उक्त क्षेत्रमा बुधवार दिउँसो आगो फैलिँदा मर्मतसम्भारको काम हुँदै थियो ।

आगलागीको स्पष्ट कारण थाहा भइसकेको छैन। तर प्रहरीले ती भवनहरूबाहिर भएका वस्तुका कारण आगो चाँडै फैलिएको जनाएको छ। प्रहरीले निर्माण कम्पनीका तीन अधिकारीहरूलाई मनसायरहित हत्या र गम्भीर लापरबाही गरेको आशङ्कामा पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘आगो निभाउन खटिएका एक अग्निनियन्त्रक’ सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आगलागीबाट विस्थापित भएका मानिसहरूलाई नजिकै रहेका आपत्कालीन आश्रयस्थलमा लगिएको छ ।

आगो लाग्दा वाङ्फुक कोर्टमा कति मानिस थिए भन्ने अझै अस्पष्ट छ । सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्टमन्ट थिए। तिनमा ४ हजार ६०० मानिसहरू बस्थे ।