वासिङटन । सिरिया इस्लामिक स्टेट (आईएस) समूहलाई पराजित गर्न अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुने भएको छ । यो कदमले मध्यपूर्वमा अमेरिकाको परराष्ट्र नीतिमा ठूलो मोड ल्याउने संकेत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिरियाका राष्ट्रपति अहमद अल–शराअबीच ह्वाइट हाउसमा भएको ऐतिहासिक भेटपछि सिरियाको सहभागिता घोषणा गरिएको हो । अमेरिकी इतिहासमा यो पहिलो पटक सिरियाली नेताले ह्वाइट हाउस भ्रमण गरेका हुन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति अल–शराअले यो भ्रमणलाई ‘नयाँ युगको सुरुवात’ भएको बताए । उनका अनुसार सिरियाले अब अमेरिकासँग सहकार्य गर्दै आतंकवाद नियन्त्रण र क्षेत्रीय स्थायित्वका लागि काम गर्नेछ ।
ट्रम्पले पनि अल–शराअप्रति समर्थन जनाउँदै उनलाई ‘सक्षम र लडाकु स्वभावका युवा नेता’ भनेका छन् । केही वर्षअगाडि मात्र अमेरिकाले उनलाई आतंककारी सूचीमा राखेको थियो ।
यससँगै सिरिया अब ९०औं देशको रूपमा विश्वव्यापी गठबन्धनमा सामेल हुनेछ, जसको उद्देश्य इस्लामिक स्टेटका बाँकी समूहहरूलाई समाप्त पार्ने र विदेशी लडाकुहरूको आवागमन रोक्ने रहेको छ ।
भेटपछि अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले अर्थ, विदेश र वाणिज्य मन्त्रालयले संयुक्त रूपमा सिरियामाथिका आर्थिक प्रतिबन्धहरू हटाउने तयारी गरेको जानकारी दिए । यसअन्तर्गत सन् २०१९ देखि लागू रहेको ‘सिजर एक्ट’ लाई १८० दिनका लागि निलम्बन गरिनेछ ।
भेटपछि ट्रम्पले पत्रकारहरूसँग भने, ‘हामी सिरियालाई सफल र स्थिर राष्ट्रका रूपमा देख्न चाहन्छौं, र मलाई विश्वास छ, यो नेताले त्यो सम्भव बनाउनेछन् ।’
सन् २०१२ देखि विच्छेद भएका सिरिया–अमेरिका कूटनीतिक सम्बन्ध अब पुनःस्थापित हुँदैछ । अमेरिकाले सिरियालाई वाशिङटनमा आफ्नो दूतावास पुनः खोल्ने अनुमति दिने तयारी गरेको छ ।

प्रतिक्रिया