रूसद्वारा रातभर युक्रेनमा मिसाइल र ड्रोन आक्रमण, ६ जनाको मृत्यु


बीबीसी । रूसले युक्रेनका ऊर्जा पूर्वाधार र आवासीय क्षेत्रहरूमा रातभर मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सयौं मिसाइल र ड्रोन प्रयोग गरेर गरिएको आक्रमणमा राजधानी कीभसहित २५ भन्दा बढी स्थानमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

डनिप्रो सहरको एक आवासीय भवनमा भएको आक्रमणमा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। जपोरिझियामा तीन जनाको मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत पोल्टावा, खार्किभ र कीभ क्षेत्रका प्रमुख ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको बताउँदै विद्युत् आपूर्ति पुनःस्थापना कार्य तीव्र रूपमा चलिरहेको जानकारी दिइन् । रूसको रक्षा मन्त्रालयका अनुसार रूसी सेनाले रातभरमा ७९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

युक्रेनी वायुसेनाले भने रूसले ४५० भन्दा बढी बमयुक्त ड्रोन र ४५ मिसाइल प्रक्षेपण गरेको र तीमध्ये ९ मिसाइल र ४०६ ड्रोन खसालिएको जनाएको छ ।

युक्रेनी ऊर्जा मन्त्रालयका अनुसार डनिप्रोपेत्रोभ्स्क, चेर्निहिभ, जपोरिझिया, ओडेसा र किरोभोहराद क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। तर, प्रमुख पूर्वाधारहरू पुनःजडान गर्न र पानी आपूर्ति जनरेटरमार्फत कायम राख्न प्रयास जारी रहेको स्विरिदेन्कोले बताइन् ।