दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने ट्रम्पको भनाइ


वासिङटन । दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताएका छन् ।

दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ। ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्स यस महिनाको अन्त्यमा उनको सट्टा बैठकमा सहभागी हुने बताएको भएपनि यसलाई संशोधन गर्दै अमेरिकी प्रतिनिधिहरूले यसलाई पूर्ण रूपमा वेवास्ता गर्ने बताएका छन् ।

“जी–२० दक्षिण अफ्रिकामा आयोजना गरिनु पूर्ण रूपमा लज्जाको बिषय हो,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा भने ।

उनले भने, “यी मानवअधिकार उल्लङ्घनहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित हुने छैनन्।”

ट्रम्पले भने, “दक्षिण अफ्रिकाका युरोपबाट आप्रबासन गरी सवैभन्दा पहिले बसोबास गर्ने श्वेत अफ्रिकीहरूलाई ‘हत्या’ गरिएको र उनीहरूको जग्गा र खेतहरू अवैध रूपमा जफत गरिएको छ।”

दक्षिण अफ्रिकी विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई ‘खेदजनक’ भनेको छ र नोभेम्बर २२ र २३ मा तय गरिएको शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गर्ने बताएको छ।

“अफ्रिकीहरूलाई विशेष रूपमा गोरा समूहको देशको रूपमा चित्रण गर्नु ऐतिहासिक छ तर यो समुदायले सतावटको सामना गरिरहेको दाबी तथ्यले प्रमाणित गर्दैन,” विज्ञप्तिमा भनिएको छ।

प्रिटोरियाले आफ्नो जी–२० अध्यक्षताको विषयवस्तुको रूपमा ‘एकता, समानता, र दिगोपन’ रोजेको तर वाशिङ्गटनबाट केही प्रतिरोधको सामना गर्नु परेको जनाएको छ।

जनवरीमा ह्वाइट हाउस फर्केदेखि ट्रम्पले दक्षिण अफ्रिकालाई धेरै मुद्दाहरूमा कठोर व्यवहार गरेको आरोप लगाएका छन् । विशेष गरी दक्षिण अफ्रिकामा ‘श्वेत नरसंहार’ हुने गरेको दावी उनको छ।

उनले यस वर्षको सुरुमा ओभल अफिसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाविरूद्ध बोल्दै रङ्गभेद पछिको सरकारद्वारा गोरा किसानहरू विरुद्धको अभियान चलाएको आरोप लगाएका थिए ।

दक्षिण अफ्रिकाको सरकारले यस्तो कुनै पनि नीतिलाई अस्वीकार गर्दछ।

ट्रम्पको प्रशासनले गत हप्ता संयुक्त राज्य अमेरिकाले वार्षिक रूपमा स्वीकार गर्ने शरणार्थीहरूको सङ्ख्यालाई सात हजार ५०० को रेकर्ड न्यूनतम सङ्ख्यामा घटाउने र गोरा दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने योजना घोषणा गरेको थियो ।
संयुक्त राष्ट्र संघको सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय न्याय अदालतमा गाजामा इजरायललाई नरसंहारको आरोप लगाएको दक्षिण अफ्रिकाको मुद्दा लगायतका मुद्दाहरूमा पनि दुई देशहरू विवादमा परेका छन्।