इस्तानबुल । टर्कीका मुख्य सरकारी वकिलले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अन्य ३६ जना वरिष्ठ अधिकारीहरूविरुद्ध नरसंहार र मानवता विरोधी अपराधको आरोपमा पक्राउ आदेश जारी गरेका छन् ।
इस्तानबुलका मुख्य अभियोजक कार्यालयले जारी गरेको आदेशमा रक्षा मन्त्री इजरायल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिर, सेनाका प्रमुख हर्जि हलेवी र नौसेना प्रमुख डेभिड साएर सलामाको नाम समेत समावेश छ । यी सबै अधिकारीहरू टर्कीको कानुनी अधिकारक्षेत्रबाहिर रहेका कारण अभियोजन पक्षले उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा गिरफ्तारी नोटिस जारी गर्न अनुरोध गरेको छ ।
अभियोजक कार्यालयका अनुसार सहायता अवरोध, २०२३ अक्टोबर १७ मा अल–अहली अरब बेप्टिस्ट अस्पतालमाथिको आक्रमण, र २०२५ मार्च २१ मा टर्की–प्यालेस्टिनी मित्रता अस्पतालमाथिको बमबारीलाई नरसंहारका प्रमाणका रूपमा समावेश गरिएको छ। साथै, गाजामाथिको नाकाबन्दीलाई पनि अभियोगको आधार बनाइएको छ । घटनामा बाँचेकाहरूलाई टर्की ल्याइएर पीडितका रूपमा बयान लिइएको थियो ।
अनुसन्धान इस्तानबुल प्रहरी र राष्ट्रिय गुप्तचर संस्थासँग सहकार्यमा भइरहेको छ । टर्कीले इजरायली अधिकारीविरुद्ध कानुनी कारबाही अघि बढाएको यो पहिलो पटक भने होइन । सन् २०१० मा इजरायली कमान्डोहरूले अन्तर्राष्ट्रिय पानी क्षेत्रमा ‘माभी मरमारा’
जहाजमाथि आक्रमण गरी १० जना नागरिकको ज्यान लिएका थिए। त्यसपछि टर्कीले इजरायलका चार जना पूर्व कमान्डरहरूविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर सन् २०१६ मा इजरायल र टर्कीबीच भएको सामान्यीकरण सम्झौतापछि उक्त मुद्दा खारेज गरिएको थियो।
सम्झौता अनुसार इजरायलले पीडितका परिवारका लागि २० मिलियन अमेरिकी डलर क्षतिपूर्ति टर्की सरकारको खातामा जम्मा गरेको थियो, र टर्कीले इजरायली सैनिकविरुद्ध आपराधिक तथा दीवानी दावी रोक्ने कानुन पारित गरेको थियो ।

प्रतिक्रिया