लिबियामा युद्ध अपराधको आरोपमा पूर्वप्रहरी प्रमुख पक्राउ


त्रिपोली । युद्ध अपराध र कैदीहरूलाई यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजीको सूचीमा राखेका पूर्व प्रहरी प्रमुख ओसामा अलमासरी नाजिमलाई पक्राउ गरेको त्रिपोलीस्थित लिबियाली अभियोजकको कार्यालयले घोषणा गरेको छ।

अभियोजनकर्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “त्रिपोलीको मुख्य कारागारमा यातना र क्रुर र अपमानजनक व्यवहारको सिकार भएका कैदीविरुद्ध मानवअधिकार उल्लङ्घनको बारेमा नाजिमलाई जानकारी सङ्कलन गरिएको छ ।”

“अनुसन्धानकर्ताहरूले नाजिमसँग १० जना बन्दीहरूको कथित दुव्र्यवहारको बारेमा सोधपुछ गरेका थिए, जसमध्ये एकको ‘यातनाका कारण’ मृत्यु भएको थियो,” विज्ञप्तिमा भनिएको छ।

नाजिमलाई उत्तर अफ्रिकी देशमा सन् २०१५ देखि भएको युद्ध अपराधको आरोपमा आइसिसीको वारेन्टमा जनवरीमा इटालीमा पक्राउ गरिएको थियो तर रोमको अदालतको आदेशपछि उहाँलाई रिहा गरिएको थियो । उनलाई इटालियको वायुसेनाको विमानमा त्रिपोलीस्थित घर पुर्याइएको थियो।

उनको रिहाई र स्वदेश फिर्तीपछि प्रधानमन्त्री जर्जिया मेलोनीसहित इटालीका शीर्ष अधिकारीमाथि अनुसन्धान सुरु भएको थियो ।

नाजिम फर्केपछि लिबियास्थित संयुक्त राष्ट्रसङ्घको नियोग –यूएनएसएमआइएल) ले अधिकारीहरूलाई ‘उनलाई पक्राउ गरी पूर्ण जवाफदेहिता सुनिश्चित गर्न यी अपराधहरूको अनुसन्धान सुरु गर्न वा आईसीसीमा स्थानान्तरण गर्न’ आग्रह गरेको थियो।

लिबिया प्रधानमन्त्री अब्दुलहमिद डबैबाहको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसङ्घको मान्यता प्राप्त सरकार र पूर्वमा प्रतिद्वन्द्वी प्रशासनबीच विभाजित छ।

उत्तर अफ्रिकी देश सन् २०११ मा नेटोको समर्थन प्राप्त विद्रोहले लामो समयदेखि राष्ट्रपति रहेका मोहमर गद्दाफीको हत्या गरेपछि विभाजित भएको छ।

लिबियाले मे महिनामा भनेको थियो, “उसले रोम विधानको पक्ष नभए पनि देशमा कथित युद्ध अपराधको अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को अधिकार स्वीकार गरेको छ।”

संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिफारिसमा आइसिसीले सन् २०११ देखि लिबियामा भएको ज्यादतीको अनुसन्धान गरिरहेको छ ।