हैदरावाद । भारत तेलङ्गानाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान सवारी दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । ट्रक र बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरी अधिकारीहरूका अनुसार बिहान करिब ५ बजे तन्डुरबाट हैदरावादतर्फ जाँदै गरेको तेलङ्गाना राज्य सडक यातायात निगम (टीजीएसआरटीसी)को बसलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा दुवै सवारीका चालकको पनि मृत्यु भएको बताइएको छ ।
बसमा ७० जना सवार रहेका थिए । दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धारकार्य सुरु गरिएको थियो। घाइतेहरूलाई चेवेल्लास्थित सरकारी अस्पतालमा उपचारका लागि लगिएको छ, जहाँ तीन जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
यातायात मन्त्री पोनम प्रभाकरले राहत र उद्धार कार्य तीव्र पार्न र घाइतेहरूलाई उत्तम उपचार सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया