अफगानिस्तानको मजार–ए–शरीफमा शक्तिशाली भूकम्प


बीबीसी । अफगानिस्तानको हिन्दकुश क्षेत्रमा पर्ने मजार–ए–शरीफ नजिकको खोल्ममा शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ ।

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । दुई महिनाअघि देशको पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पमा हजारौं मानिसको ज्यान गएको थियो । भूकम्पका कारण मृत्यु वा घाइतेबारे विवरण प्राप्त भएको छैन । भूकम्पपछि मजार–ए–शरीफमा मध्यरातमा डरले मानिसहरू सडकमा निस्किएका थिए ।

तालिबान सत्ता फर्किएपछि सन् २०२१ यता देशमा धेरै ठूला भूकम्पहरू आएका छन् । सन् २०२३ मा इरान सीमासँग जोडिएको हेरात क्षेत्रमा आएको भूकम्पमा १,५०० भन्दा बढीको मृत्यु भएको थियो र ६३,००० भन्दा बढी घर ध्वस्त भएका थिए ।

गत अगस्ट ३१ मा देशको पूर्वी भागमा आएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । हिन्दकुश पर्वतशृङ्खलाको आसपास युरेसियन र भारतीय प्लेटहरूको सङ्गमस्थलमा पर्ने अफगानिस्तान भूकम्प जोखिमका दृष्टिले अत्यन्त संवेदनशील देश हो ।