म्याड्रिड । भेनेजुएलाका निर्वासित विपक्षी नेता लियोपोल्डो लोपेजले राष्ट्रपति निकोलस मदुरोको नागरिकता खोस्ने योजनाको निन्दा गरेका छन् ।
राष्ट्रपति मदुरोले लोपेजको नागरिकता खारेज गर्न सर्वोच्च अदालतसँग माग गरेको भेनेजुएला सरकारले जनाएको छ ।
अमेरिकाको बढ्दो दबाबमा मदुरो रहेका बेला यो कदम चालिएको हो। अमेरिकाले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करीको आरोपमा शङ्कास्पद जहाजमा शृंखलाबद्ध आक्रमण गरेपछि युद्धपोत तैनाथ गरेको छ ।
सन् २०२० देखि निर्वासनमा बस्दै आएका लोपेजले मड्रिडमा आयोजित पत्रकार सम्मेलनमा भने, “मदुरोले मेरो नागरिकता खोस्ने घोषणा गरेका छन् ।”
उनले भने, “त्यो प्रस्तावबारे भेनेजुएलाको संविधानमा कुनै उल्लेख छैन।” भेनेजुएलाको संविधानमा लोपेजजस्ता जन्मजात भेनेजुएलाका नागरिकको नागरिकता खोस्न नमिल्ने उल्लेख छ ।
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको समर्थन गर्नुहुन्छ त भन्ने प्रश्नमा लोपेजले ‘कार्टेल अफ द सन’ र यसका नेताहरू निकोलस मदुरो र आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोलाई निष्प्रभावी पार्न सबै आवश्यक कदमको समर्थन गर्ने बताए । ‘कार्टेल अफ द सन्स’ भेनेजुएलाका उच्च अधिकारीहरुले लागुऔषध ओसारपसार गर्ने सञ्जाल हो ।
भेनेजुएलाले अमेरिकी लागुऔषध विरोधी अभियानलाई मदुरोलाई सत्ताच्युत गर्ने प्रयासको एक अभियानको रूपमा हेर्छ । सन् २०२४ मा भएको निर्वाचनबाट राष्ट्रपति चयन भएका मदुरोको निर्वाचनलाई वाशिङ्गटनले धाँधली भएको भन्दै मान्यता दिएको थिएन ।
काराकासको चाकाओ जिल्लाका पूर्व मेयर लोपेजलाई सन् २०१५ मा सरकार विरोधी प्रदर्शन भड्काएको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।
उनी सन् २०१९ मा असफल सैन्य विद्रोहमा सामेल भएका थिए र स्पेनिस राजदूतको निवासमा शरण लिएर सन् २०२० मा म्याड्रिडतर्फ भागेका थिए ।

प्रतिक्रिया