टोकियो । जापानको सबैभन्दा ठूलो विपक्षी दलले प्रधानमन्त्रीका रूपमा साने ताकाइचीको उदय रोक्नका लागि अन्य दलहरूसँग मिलेर साझा उम्मेद्वारको समर्थन गर्ने तयारी गरेको छ । यो कदम सत्तारूढ गठबन्धन विघटन भएपछि आएको हो, जसले देशलाई नयाँ राजनीतिक अनिश्चिततामा धकेलेको छ ।
जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्यसहित अगाडि बढेकी कन्जर्भेटिभ नेत्री ताकाइचीका लागि चुनौतीपूर्ण स्थिति सिर्जना भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सँग २६ वर्ष लामो सहकार्यपछि यसको सह–गठबन्धन साझेदार कोमेइटोले शुक्रबार सम्बन्ध विच्छेद गरेको छ ।
एक हप्ताअघि नयाँ एलडिपी अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई प्रधानमन्त्री बन्न संसद्को स्वीकृति आवश्यक छ । तर, कोमेइटोको अलगावपछि उक्त समर्थन सुनिश्चित गर्न कठिन देखिएको छ ।
मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का प्रमुख योशिहिको नोडाले भने, “यो सरकार परिवर्तनका लागि दशकमा एक पटक आउने अवसर हो ।” उनले विपक्षी दलहरूलाई एउटै उम्मेद्वारको पक्षमा एकजुट हुन आग्रह गरे ।
अझै सार्वजनिक नभएको निक्केई पोडकास्टको रेकर्डिङमा बोल्दै नोडाले सम्भावित साझा उम्मेद्वारका रूपमा डेमोक्रेटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुख युइचिरो तमाकीलाई अघि सार्न सकिने सङ्केत गरे । तमाकीले पनि शुक्रबार आफू उम्मेदवारी दिन इच्छुक रहेको बताएकी थिइन् ।
यद्यपि सिडिपी र डिपिपीबीच नीति सम्बन्धी उल्लेखनीय मतभेदहरू छन्, जसले सहकार्यमा अवरोध पुर्याउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया