वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा आगामी महिनादेखि थप १०० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्ने बताएका छन् । उनले चीनमाथि ‘शत्रुतापूर्ण व्यवहार’ देखाएको आरोप लगाउँदै विश्वलाई ‘बन्दी बनाउन खोजिरहेको’ बताएका छन् ।
यसअघि चीनले दुर्लभ खनिजहरूको निर्यात नियम कडा पारेको निर्णयपछि ट्रम्पले तीव्र प्रतिक्रिया जनाएका थिए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको आगामी बैठकबाट पनि पछि हट्ने संकेत दिएका थिए, यद्यपि पछि उनले बैठक ‘रद्द नभएको’ बताए।
ट्रम्पका ती टिप्पणीपछि अमेरिकी वित्तीय बजारमा नकारात्मक असर परेको छ। एसएन्डपी ५०० सूचकांक २.७ प्रतिशतले घटेको छ, जुन अप्रेलपछि सबैभन्दा ठूलो गिरावट हो।
चीन दुर्लभ खनिज र अन्य महत्त्वपूर्ण सामग्रीहरूको विश्वकै अग्रणी उत्पादक देश हो, जसका सामग्रीहरू गाडी, स्मार्टफोन र अन्य प्रविधिजन्य सामानहरूमा प्रयोग गरिन्छ।
यसअघि वर्षको सुरुवातमा ट्रम्पले चिनियाँ वस्तुहरूमा शुल्क बढाएपछि बेइजिङले निर्यात नियन्त्रण कडा गरेको थियो । त्यसबेला अमेरिकी उद्योगहरूले तीव्र विरोध जनाएका थिए र कार निर्माता कम्पनी फोर्डले केही समयका लागि उत्पादन रोकेको थियो।
दुर्लभ खनिज निर्यातमा कडाइसँगै चीनले अमेरिकी प्रविधि कम्पनी क्वालकममाथि एकाधिकार जाँच सुरु गरेको छ, जसले अर्को चिप निर्माता कम्पनीको अधिग्रहण प्रक्रिया प्रभावित गर्न सक्छ। क्वालकम अमेरिकी कम्पनी भए पनि यसको ठूलो कारोबार चीनमा केन्द्रित छ।
बेइजिङले अमेरिकासँग सम्बन्धित जहाजहरूमा नयाँ बन्दरगाह शुल्क लगाउने तयारी पनि गरेको छ।

प्रतिक्रिया