गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय


तेल अभिव । करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनुपरेको थियो । तर, बिहीबार बिहान मध्य तेल अभिभको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुसी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो ।

समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्याहट मच्चियो । स्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेसन गरियो, मिठाई बाँडियो, अनि हाँसो र आलिङ्गनसहित आँसु बगाए– गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदियो ।

बन्दीहरू मुक्त गराउने अभियानको प्रमुख अनुहार मानिएकी इना जाङ्गाउकरले आफ्नो बन्धक छोराको नाम उच्चारण गर्दै उत्साहित स्वरमा चिच्याइन्, ‘मतन घर आउँदै छ !’ हात आकाशतिर उठाउँदै उनी ‘धन्यवाद !’ भन्दै भावनामा डुबिन्, जबकि वरिपरि समर्थकहरूको भिड, बन्धकका परिवारहरू र पहिले मुक्त भएका पूर्वबन्दीहरूले चोक भरिदिएका थिए ।

पत्रकारहरूलाई उनले भनिन्, ‘म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु । मेरो एउटा मात्र सपना छ, उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने ।’

७ अक्टुबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमणपछि जब उनीहरूको प्रियजनहरू अपहरणमा परे, त्यतिबेलादेखि यी परिवारहरू निरन्तर संघर्षमा छन् । उनीहरूले विश्व नेताहरूसँग भेटघाट गरेका छन्, इजरायली राजनीतिज्ञहरूसँग वादविवाद गरेका छन्, अनि आफ्नो परिवारका सदस्यहरूलाई दुःस्वप्नजस्तो अवस्थाबाट मुक्त गराउने प्रतिज्ञा कहिल्यै त्यागेका छैनन् । तर, बिहीबार– त्यो संघर्षको दिशानिर्देशक क्षण बन्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ स्क्वायरमा उत्साह र आशाको लहर फैलियो । इजरायली तथ्यांकअनुसार, सुरुमा अपहरणमा परेका २५० जनामध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ ।

७ अक्टुबरको भयावह बिहानदेखि बन्धक परिवारहरूले प्रत्येक दिन, घण्टा र सेकेन्ड गन्दै बिताएका थिए । स्क्वायरमा राखिएको ‘काउन्टडाउन’ घडीले ती पीडाका क्षणहरू गन्दै आएको थियो । तर, आज ती सेकेन्डहरू अब स्वतन्त्रताको नजिक धकेलिँदै थिए, समयले बन्धकहरूको घरफिर्तीको आहट सुनाइरहेको थियो ।

रेबेका बोबोटले इन्स्टाग्राममा लेखिन्, ‘दुई वर्षदेखि म आफ्ना प्रियजनको जीवनका लागि लड्दै आएकी छु । यो त्यो क्षण हो– जब एउटा सानो केटाले आफ्ना बुबालाई अँगालोमा बेर्छ, जब मेरो परिवार फेरि जीवित हुन्छ ।’ उनका पति एल्काना ७ अक्टुबरमा बन्धक बनाइएका थिए ।

उत्सवको केन्द्रविन्दु राष्ट्रपति ट्रम्प नै बनेका थिए । धेरै इजरायली र बन्धक परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सम्झौतामा सहमत गराउन ट्रम्पको दबाब र मध्यस्थतालाई श्रेय दिए । स्क्वायरमा केही व्यक्तिहरू ट्रम्पको पोशाकमा सजिएका थिए, अमेरिकी झण्डा फहराइरहेका थिए, अनि भिडले ‘धन्यवाद, ट्रम्प !’ भन्दै नारा लगाउँदै उनलाई नोबेल शान्ति पुरस्कारको योग्य ठहर गरे ।

तर, सबैभन्दा गहिरो कुरा– ७ अक्टुबर २०२३ पछि इजरायलमा फैलिएको उदासी र पीडाको वातावरणलाई पहिलोपटक आशाले प्रतिस्थापन गरेको देखियो । होस्टेज स्क्वायरमा लामो समयपछि जीवन र मुस्कान फर्किएको थियो । त्यो दिनको अन्धकार अझै स्मृतिमा बाँकी भए पनि आजको रातमा इजरायलीहरूका आँखामा उज्यालो देखिन्थ्यो ।

युद्धको प्रारम्भमा मुक्त भएका पूर्वबन्धक ओमर वेन्कर्टले सम्झौताको समाचार सुनेपछि भावनात्मक स्वरमा भने, ‘मलाई टाउकोदेखि खुट्टासम्म चिसो महसुस भइरहेको छ । म कल्पना पनि गर्न सक्दिनँ, हामी एक राष्ट्रका रूपमा कति गहिरो खुसी महसुस गर्न सक्षम हुनेछौँ ।’