बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभले ‘पूरै युक्रेन मूल स्वरूपमा हासिल गर्न सक्ने’ बताएका छन् ।
आफ्नो सामाजिक प्ल्याटफर्म ‘ट्रूथ सोसल’मा लेख्दै उनले युरोप र नेटोको सहयोगमा, रुसी अर्थतन्त्रमा परेको दबावका कारण युक्रेनले ‘युद्ध सुरु हुँदाको बेलाको सीमाको स्वरूपमा फिर्ता पाउन सक्ने’ बताएका हुन् ।
मङ्गलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गरेपश्चात् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी भएसँगै उनको यो टिप्पणी आएको हो । ट्रम्पले बारम्बार युद्ध समाप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्।
यद्यपि यसअघि उनले उक्त प्रक्रियामा युक्रेनले केही क्षेत्र छाड्नु पर्ने सम्भावना हुने बताएका थिए र जेलेन्स्कीले त्यसमा लगातार विमति राख्दै आएका थिए । उक्त पोस्टमा ट्रम्पले युक्रेन ‘त्यसभन्दा पनि अघि बढ्न सक्ने’ सम्भावना औँल्याएका छन् तर त्यसो भनेर उनले के कुरातर्फ सङ्केत गर्न खोजेका हुन् भन्ने खुलाएका छैनन् ।
त्यस्तै उनले क्राइमियाबारे पनि बोलेका छैनन्। सन् २०१४ मा उक्त क्षेत्रमाथि आक्रमण गरेर कब्जा जमाएको रुसले सन् २०२२ बाट युक्रेनविरुद्ध पूर्ण युद्ध थाल्यो ।
ट्रम्पले ‘युक्रेन र रुसको सैन्य तथा आर्थिक स्थितिबारे पूरै बुझेपछि’ आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । जेलेन्स्कीले ट्रम्पको धारणामा आएको ‘ठूलो परिवर्तन’को सराहना गरेका छन्।
उनले ‘युद्ध समाप्त भएपछि’ अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन चाहेको आफूले बुझेको बताएका छन्।

प्रतिक्रिया