अफगानिस्तानबाट विमानको पांग्रामा बसेर भारत आइपुगे १३ वर्षीय बालक


दिल्ली । आइतबार बिहान दिउँसो भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अचम्मको दृश्य देखा पर्यो । विमानस्थलको टर्मिनल ३ को प्रतिबन्धित क्षेत्रमा एक किशोर हिडिरहेको देखेपछि सोधपुछ गर्दा उनी अफगानिस्तानबाट विमानको पांग्रामा बसेर भारत आएको तथ्य पत्ता लाग्यो ।

काबुलबाट दिल्ली आएको काम एयरको उडानमा १३ वर्षीय अफगान बालक विमानको पाङ्ग्राको डब्बा भित्र लुकेर भारत आएको तथ्य फेला पर्दा सबैलाई चकित बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

आइतबार बिहान करिब ११:१० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट RQ-4401 मा बालकलाई विमान नजिकै हिँडिरहेको अवस्थामा सुरक्षा अधिकृतले देखेका थिए। उनलाई तुरुन्तै नियन्त्रणमा लिइएर केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) ले सोधपुछ गर्यो।

कुनदुजका स्थानीय रहेको उनले काबुल विमानस्थलमा नदेखी प्रवेश गरी पाङ्ग्राको डब्बामा लुकेर यात्रा गरेको बताएका छन् । यस्तो यात्रा प्राणघातक मानिन्छ, किनभने त्यहाँ अक्सिजनको कमी र अत्यधिक चिसो हुन्छ ।

तर, भाग्यवश उक्त बालक सुरक्षित रहे र दिउँसो करिब ४ बजे अर्को विमानमार्फत उनलाई काबुल फर्काइयो । जाँचका क्रममा विमानको पाङ्ग्राबाट रातो स्पिकर समेत फेला परेको छ ।

यस्ता घटना दुर्लभ भए पनि पहिले पनि विभिन्न देशमा यात्रुहरू पाङ्ग्रामा लुकेर यात्रा गर्ने प्रयासमा प्राण गुमाएको उदाहरणहरू रहेका छन्।