जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु


 

टोकियो । निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ ।

यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको छ ।

अक्टोबरको सुरुआतमा हुने मतदानअघि एलडिपी नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । ‘परिवर्तन, एलडिपी’ भन्ने नारा सहित सुरु भएको यो दौड पार्टीको भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ ।

गत वर्ष एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइटो दुवैले ठूलो घाटा बेहोरेपछि अब नयाँ नेताले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसद्मा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ ।

एलडिपी अझै पनि संसद्को सबैभन्दा ठूलो दल भएकाले नयाँ नेता प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । तर नयाँ प्रधानमन्त्रीले विपक्षी दलहरूसँग सहकार्य नगरे अविश्वास प्रस्ताव र छोटो अवधिका सरकारहरूको जोखिम सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

अक्टोबर ४ मा हुने मतदान सर्वसाधारणका लागि खुला छैन । यसमा दुई सय ९५ एलडिपी सांसद र करिब १० लाख भुक्तानी सदस्य मात्र सहभागी हुनेछन् । यो जापानको कुल मतदाताको एक प्रतिशतभन्दा कम हो ।
यदि पहिलो चरणमा कसैले बहुमत पाएन भने शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । नयाँ नेताले प्रधानमन्त्री बन्न संसदीय मतदानमा केही विपक्षी सांसदहरूको समर्थन पनि जुटाउनुपर्नेछ ।

प्रतिस्पर्धामा रहेका पाँचै उम्मेदवार पूर्व वा हालका मन्त्री हुन् । उनीहरूले आफूलाई मध्यम रूढीवादी भन्दै विपक्षीसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएका छन् ।

सोमबारको संयुक्त कार्यक्रमले अर्थतन्त्र र आप्रवासन नीतिमा कडा उपायहरूलाई प्राथमिकतामा राखेको छ । कृषिमन्त्री शिन्जिरो कोइजुमी र पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई प्रमुख दावेदार मानिएको छ ।

चवालिस वर्षका शिन्जिरो कोइजुमी लोकप्रिय पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । उनले गत वर्ष इसिबासँग प्रतिस्पर्धा गरेका थिए र यसपटक दोस्रो प्रयास गरिरहेका छन् ।

कृषिमन्त्रीका रूपमा उनले मूल्य नियन्त्रणका लागि आपत्कालीन चामल भण्डार जारी गरेका थिए । जनताको आवाज नजिकबाट सुन्ने वाचा गर्दै उनले पार्टी सुधार र सार्वजनिक सुरक्षामा जोड दिएका छन् । विजयी भएमा उनी सन् १८८५ पछि जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नेछन् ।

चौँसठ्ठी वर्षकी साना ताकाइची पूर्वप्रधानमन्त्री शिन्जो आबेकी नजिककी सहयोगी हुन् । गत वर्ष रनअफमा इसिबासँग पराजित भएकी उनले बलियो सेना, विकासका लागि सार्वजनिक लगानी र परम्परागत पारिवारिक मूल्यहरूको पक्षमा आवाज उठाइरहेकी छन् ।

महिला सम्राटको विरोध गर्ने ताकाइचीले विवाहित जोडीलाई छुट्टै थर राख्न दिने कानूनी संशोधनको समर्थन गरेकी छन् । यदि निर्वाचित भइन् भने उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।

चौँसठ्ठी वर्षीय योशिमासा हयासी इसिबाको सरकारका मुख्य क्याबिनेटमा छन् । मध्यमार्गी धारका हयासीले स्थिर ज्याला, बलियो अर्थतन्त्र र रक्षा सुदृढीकरणको वाचा गरेका छन् । हार्वर्ड–शिक्षित उनी अङ्ग्रेजीमा धाराप्रवाह हुन् र ‘गिन्स’ नामक पप ब्यान्डका सदस्यसमेत हुन् ।

उन्सत्तरी वर्षीय तोशिमित्सु मोतेगीले विदेश तथा व्यापार मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा कडा व्यापार वार्ताकारका रूपमा परिचित मोतेगी जापान–अमेरिका गठबन्धनलाई अझ गहिरो बनाउनुपर्ने पक्षधर हुन् ।

पचास वर्षीय ताकायुकी कोबायाशी पूर्व आर्थिक सुरक्षामन्त्री हुन् । अति रूढीवादी धारका उनी बलियो विकास, राष्ट्रिय एकता र विदेशी कामदारमा कडा प्रतिबन्धका पक्षधर हुन् । उनले रक्षा खर्च दुई प्रतिशतभन्दा कम नहुने वाचा गरेका छन् ।

ताकाइची विजयी भएमा जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । तर उनी युद्धकालीन इतिहाससम्बन्धी दृष्टिकोणले चीन र दक्षिण कोरियासँगको सम्बन्ध जटिल बनाउन सक्ने विश्लेषकहरूको चेतावनी छ । उनले भने चीनसँग राम्रो सम्बन्ध चाहेको दाबी गरेका छन् ।

जापान हाल सुरक्षा चुनौतिबीच रहेको छ र अमेरिकाबाट थप रक्षा खर्चको माग बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा विपक्षीसँग सहकार्य महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ । जापान इनोभेसन पार्टी (इशिन) र डेमोक्रेटिक पार्टी फर द पिपुल जस्ता दलहरूसँग सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गर्ने देखिन्छ ।

कोइजुमीले हालै इशिन नेतासँग ओसाका एक्सपोमा भेट गरेका थिए भने हयासीले वरिष्ठ इशिन सांसदसँग रात्रिभोज गरेका थिए । मोतेगीले पनि यी दुई दलसँग गठबन्धन गर्ने इच्छा प्रकट गरेका छन् ।