काबुल । अफगानिस्तानमा करिब आठ महिनादेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीलाई शुक्रबार रिहा गरिएको तालिबान अधिकारीहरूले बताएका छन्।
गत फेब्रुअरीमा घर फर्कने क्रममा ८० वर्षीय पिटर रेनोल्ड्स र उनकी पत्नी ७६ वर्षीया बारबरालाई किन पक्राउ गरिएको थियो भन्ने विषय तालिवान अधिकारीहरूले केही खुलाउन अस्वीकार गरेका छन्।
काबुल विमानस्थलको धावनमार्गमा एक विमान नजिकै दाह्री पालेका आफ्ना पतिको छेउमा रातो स्कार्फ लगाएर उभिएकी बारबराले संक्षिप्तरूपमा भनिन्, “हामीलाई धेरै राम्रो व्यवहार गरिएको छ। हामी हाम्रा बच्चाहरूलाई भेट्न आतुर छौँ।”
“यदि हामीले अफगान सरकारबाट अनुमति पाउछौँ भने अफगानिस्तान फर्कन चाहन्छौँ । हामी अफगान नागरिक भइसकेका छौँ,” कतारले उनीहरुको रिहाइका लागि वार्तालाई सहज बनाएपछि उनले भनिन् ।
सन् १९७० मा काबुलमा विवाह गरेका यी दम्पतीले अफगानिस्तानमा बसेर महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै झण्डै दुई दशक बिताएका छन्।
उनीहरूलाई यसअघि नै आधिकारिकरूपमा अफगान नागरिकता प्रदान गरिसकिएको छ। सन् २०२१ मा तालिबान सत्तामा फर्किँदा बेलायती दूतावासको सल्लाहविरुद्ध उनीहरू अफगानिस्तानमै रहेका थिए।
अफगानिस्तानका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बल्खीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा दम्पतीलाई अफगानिस्तानका लागि बेलायतका विशेष प्रतिनिधि रिचर्ड लिन्डसेलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको छ ।
“अफगानिस्तानको कानुन मिचेका दुई बेलायती नागरिक पिटर र बारबरा रेनोल्ड्सलाई न्यायिक प्रक्रियापछि हिरासतबाट रिहा गरिएको छ,“ बल्खीले भने ।

प्रतिक्रिया