जेनेभा । रुसको पूर्ण आक्रमण सुरु भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणले एक हजार दुई सयभन्दा बढी सर्वसाधारणको मृत्यु वा घाइते भएको खुलेको छ । हतियार उन्मूलन गर्ने विश्वव्यापी प्रयासलाई अवरुद्ध गर्ने ‘चिन्ताजनक बाधा’ को निन्दा गर्दै एक निगरानी समूहले सोमबार यो तथ्य सार्वजनिक गरेको हो ।
क्लस्टर मुनिसन कोएलिशन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण विस्तार गरेपछि युक्रेन विश्वमै सबैभन्दा बढी वार्षिक क्लस्टर बम हताहत हुने देश बनेको छ ।
रुसले युद्धको पहिलो दिनदेखि व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेको, साथै युक्रेनले पनि प्रयोग गरेको र रुसभत्र तैनाथ गरेको आरोप लाग्दै आएको प्रतिवेदनले जनाएको छ ।
सन् २०२४ मा मात्र विश्वव्यापी तीन सय १४ हताहतमध्ये एक सय ९३ घटना युक्रेनमै दर्ता भएका थिए । युद्ध सुरु भएदेखि युक्रेनमा एक हजार दुई सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन्, जसको अधिकांश सन् २०२२ मा भएका थिए । प्रतिवेदनले यो सङ्ख्या वास्तविकताभन्दा निकै कम आँकलन भएको बताउँदै गत वर्ष मात्र युक्रेनले ४० भन्दा बढी आक्रमण सहनुपरेको तर हताहत विवरण उपलब्ध नभएको उल्लेख गरेको छ ।
क्लस्टर बमहरू हावाबाट खसालिन सक्छन् वा तोपखानाबाट प्रहार गरिन्छन् । ती आकाशमै विस्फोट भई साना बमहरू फराकिलो क्षेत्रमा छर्छन् । धेरै बम तत्काल नफुट्दा वर्षौंसम्म ल्यान्डमाइनझैँ खतरनाक रहन्छन् ।

प्रतिक्रिया