अमेरिकी हिरासतमा रहेका ३१० भन्दाबढी दक्षिण कोरियाली नागरिक रिहा


वासिङटन । गत साता अमेरिकी आप्रवासन कारबाहीमा पक्राउ परेका सयौं दक्षिण कोरियाली कामदारलाई रिहा गरिएको छ । दक्षिण कोरियाको निकट सहयोगी मुलुक संयुक्त राज्य अमेरिकाद्वारा आफ्ना नागरिकहरूको अकल्पनीय सामूहिक हिरासतको अन्त्य गर्न हप्ता लामो कूटनीतिक प्रयास गरिएको थियो ।

साभाना नजिकै ब्रायन काउन्टीमा हुन्डाई मोटर ग्रुप र एलजी इनर्जी सोलुसनको संयुक्त उद्योगले सञ्चालन गरेको इलेक्ट्रिक भेहिकल (ईभी) ब्याट्री प्लान्ट निर्माण स्थलमा छापा मारेको एक हप्तापछि कुल ३१६ कोरियाली नागरिकहरू जर्जियाको फोल्कस्टनमा रहेको हिरासत केन्द्रबाट फर्किएका छन्।

एक दर्जनभन्दा बढी विदेशीहरूसहित कोरियाली नागरिकहरू करिब ४.५ घण्टा लामो बसमा यात्रा गरेर एटलान्टाको हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। विमानस्थलमा उनीहरू चार्टर गरिएको कोरियन एयरको विमानमा चढेर स्वदेश फर्कनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई अमेरिकामा बस्न प्रोत्साहित गरेपछि कामदारहरूको रिहाई सुरुमा योजना गरिएको भन्दा एक दिन ढिलो भएको छ।

सियोलका अधिकारीहरूले प्रशासनले अमेरिकाको जहाज निर्माण, चिप निर्माण, मोटर वाहन र अन्य उद्योगहरूलाई पुनर्जीवित गर्न कोरियाली कम्पनीहरूसँग बढी सहयोग खोज्ने बताएका छन् ।

दुई देशको आर्थिक सहकार्यको एक प्रमुख उदाहरणको रूपमा हेरिएको विद्युतीय ब्याट्री उत्पादनस्थलमा कोरियालीसहित कुल ४७५ व्यक्तिहरू पक्राउ परेका थिए । यसलाई आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) अधिकारीहरूले ‘आन्तरिक सुरक्षा अनुसन्धानको इतिहासमा उत्पादनस्थलमा गरिएको सबैभन्दा ठूलो एकल खानतलासी र पक्राउ’ भनेका छन्।

आइसिईले उनीहरू अमेरिकामा अवैध रूपमा काम गरिरहेका बताएको छ । यसमा छोटो अवधिको वा मनोरञ्जन भिसामा रहेका व्यक्तिहरू पनि थिए । यो भिसामा अमेरिका पुग्ने कसैले पनि काम गर्न निषेध छ । अधिकांश कोरियाली कामदारहरू अस्थायी भिजिटर भिसा (बी–१) वा भिसा छुट कार्यक्रममा रहेको बताइएको छ।