आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी


दोहा । कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो ।

दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राजदूत स्टिभ विटकोफलाई कतारी अधिकारीहरुलाई यस कारबाही अघि नै यसबारे जानकारी गराउन निर्देशन दिएको बताएकी छन् ।

उनले हमासलाई वैध लक्ष्यको रूपमा चित्रण गर्दै ‘एक सार्वभौम राष्ट्र र नजिकको सहयोगी’ भित्र भएको आक्रमणलाई प्रत्युत्पादक हुने बताएकी छन् ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै पूर्व चेतावनी प्राप्त नभएको भन्दै उक्त विवरणलाई पूर्ण रुपमा झुटो भन्दै अस्वीकार गरेका छन् ।

उनले भने, “कतारलाई आक्रमणको बारेमा पहिल्यै जानकारी दिइएको भन्ने विज्ञप्ति वितरण भइरहेका छन् । दोहामा इजरायली आक्रमणका कारण विस्फोटको आवाज आएको बेला मात्र एक अमेरिकी अधिकारीको फोन आएको हो।”