युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न युरोपेली नेताहरू अमेरिकामा आउने ट्रम्पको भनाइ


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरू अमेरिकामा आउने र युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् । उनले छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने बताएका छन् ।

यसैबीच रसियाले युद्ध सुरु भएदेखि हालसम्मकै ठूलो हवाई आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु भएको छ। पहिलोपटक कीभस्थित मुख्य सरकारी भवनलाई समेत प्रहार गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध र रुससँग ऊर्जा कारोबार बन्द गर्न युरोपेली मुलुकलाई आग्रह गरेका छन् । उनले ट्रम्पको रुससँग व्यापार गर्ने मुलुकहरूमा अतिरिक्त शुल्क लगाउने योजनालाई पनि समर्थन गरेका छन् ।

ऊर्जा अनुसन्धान संस्थानका अनुसार २०२२ मार्चयता रुसले करिब ९८५ अर्ब डलर बराबरको तेल तथा ग्यास बिक्री गरेको छ, जसमा चीन र भारत प्रमुख खरिदकर्ता रहेका छन्।

युरोपेली संघले २०२७ सम्ममा रुसबाट ऊर्जा खरिद पूर्ण रूपमा रोक्ने योजना सार्वजनिक गरिसकेको छ । अमेरिकी प्रशासनले भारतबाट रुसी तेल किनिरहेबापत ५० प्रतिशत शुल्क लगाइसकेको छ । रुसले भने चीनलाई ग्यास आपूर्ति बढाउने घोषणा गरेको छ ।