पेरिस । विपक्षीसँगको बजेट गतिरोधमा आफ्नो कामलाई निरन्तरता दिन संघर्षरत फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरूले सरकारबाट ‘बिदा’ लिनुपर्ने समाजवादी पार्टीका नेता बताएका छन् ।
मध्यमार्गी प्रधानमन्त्रीले यस हप्ता फ्रान्सलाई स्तब्ध पार्दै सेप्टेम्बर ८ मा विभाजित संसद्मा विश्वासको मतको लागि अनुरोध गर्ने बताएका थिए ।
समाजवादी नेता आलिब्ही फाउरेले आगामी सेप्टेम्बर ८ मा बायरूको सरकारविरुद्ध मतदान गर्ने पार्टीको निर्णय अन्तिम भएको बताए ।
“हामीले बायरूको सरकारविरुद्ध मतदान गर्ने पार्टीको निर्णय गरेका छौँ । यो निर्णय अपरिवर्तनीय छ,” उनले प्रसारणकर्ता बीएफएमटिभीसँग भने ।
फाउरेले प्रधानमन्त्रीलाई सङ्केत गर्दै भने, “अब उहाँले गर्ने एक मात्र कुरा भनेको सरकारबाट बिदा लिनु हो।”
फाउरेले राष्ट्रपति इमानुएल म्याक्रोँलाई गत ग्रीष्मकालीन मध्यावधि चुनावको परिणामअनुसार वामपन्थी प्रधानमन्त्री नियुक्त गर्न पनि आग्रह गरेका थिए ।
सोमबारदेखि ७४ वर्षीय बायरूले फ्रान्सको ऋण कम गर्नका लागि बचतका उपायहरू अपनाउने शर्तमा विपक्षीहरूसँग वार्ता गर्ने आशा गरेका छन् ।
समाजवादी नेता फाउरेले राष्ट्रपति म्याक्रोँ बायरुको समर्थनमा उभिएपनि अति दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका विपक्षी दलले बायरुको मितव्ययिता बजेटलाई समर्थन नगर्ने बताएका छन् ।
बायरुले बिदाको सङ्ख्या घटाउने र खर्च वृद्धिमा रोक लगाउने जस्ता उपायबाट करिब ४४ अर्ब युरो (५१ अर्ब डलर) बचत गर्न चाहेको बताए ।
यी कदमहरू अलोकप्रिय साबित भएका छन् र ट्रेड युनियनहरूले यसको विरोधमा सेप्टेम्बरमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।
बीएफएमटिभीका लागि गरिएको इलाबे सर्वेक्षणअनुसार फ्रान्सका १० मध्ये सात जना नागरिकले बायरुले विश्वासको मत गुमाउने देखिएको बताएका छन् ।
बायरुको जुवाले फ्रान्सले लामो समयसम्म राजनीतिक र वित्तीय अस्थिरताको नयाँ अवधिको खतरा निम्त्याउन सक्ने आशङ्का बढाएको छ।
म्याक्रँेंले गत ग्रीष्मऋतुमा अति दक्षिणपन्थीहरूलाई परास्त गर्न र आफ्नो अधिकार बलियो बनाउने आकाङ्क्षाका साथ मध्यावधि चुनावको घोषणा गरेका थिए तर यो कदमले संसद्मा राष्ट्रपतिको आफ्नो समर्थनलाई कमजोर बनाएको थियो।

प्रतिक्रिया