नाइजेरियामा सामूहिक हिंसापछि भाग्ने क्रममा डुंगा पल्टिँदा १५ जनाको डुबेर मृत्यु


नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य जाम्फारामा भएको सामूहिक हिंसाबाट भागेका कम्तीमा १५ जनाको नदीमा डुङ्गा पल्टिँदा मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आपराधिक गिरोहले आतङ्क मच्चाइरहेका, गाईवस्तु चोरिरहेका, गाउँहरूमा लुट र आगजनी गरिरहेका र फिरौतीका लागि अपहरण गरिरहेका छन् ।

गुम्मी क्षेत्रका तीन वटा गाउँमा शुक्रबार गरिएको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाउनेमा मुख्यतया महिला र बालबालिका रहेको स्रोतले जनाएको छ ।

नसरवार किर्फी गाउँका प्रमुख मोहम्मदु चिगारीले भने, ‘नदी तर्ने क्रममा डुङ्गा पल्टिँदा १५ जना यात्रुको डुबेर मृत्यु भएको हो ।’

मृत्यु हुनेमा आठ महिला, तीन बालबालिका र चार पुरुष रहेका छन् भने तीन जनाको उद्धार गरिएको चिगारीले बताए ।
डाँकुको आक्रमणपछि दमागा, तुङ्गर मैगुनिया र नसरवार किर्फी गाउँका बासिन्दा घरबाट भागेको अर्का स्थानीय सुलेमान दङ्गालादिमाले जानकारी दिए ।

नाइजेरियाको आपतकालीन निकाय नेमाका निर्देशक अलियु शेहुले घटनाको पुष्टि गर्दै उद्धारकर्मीहरू घटनास्थलमा गएर सूचना सङ्कलन गर्ने र बाँचेकाहरूलाई सहयोग गर्ने योजना बनाइरहेको बताए ।