जलवायु संकट गहिरिँदै, स्पेनमा तापक्रम वृद्धिको नयाँ रेकर्ड


म्याड्रिड । स्पेनको राज्य मौसम विभाग (एएमईटी) ले जानकारी दिंदै यस अगस्ट महिनामा देशभर फैलिएको तापक्रम वृद्धिसँगै त्यसका प्रभावहरू पनि अभूतपूर्व रेकर्ड तोड्ने किसिमको भएको जनाएको छ ।

प्रारम्भिक तथ्यांक अनुसार अगस्ट ३ देखि १८ सम्मको अवधिमा औसत तापक्रम मौसमी मानकभन्दा ४.६ डिग्री सेल्सियस बढी रहेको छ, जुन जुलाई २०२२ मा कायम भएको ४.५ डिग्री सेल्सियसको रेकर्डभन्दा माथि रहेको छ ।

एएमईटीले अगस्ट ८ देखि १७ सम्म लगातार १० दिनसम्म तापक्रममा उल्लेखनीय वृद्धि भएको र यो १९५० देखि मापन सुरु भएदेखि सबैभन्दा तीव्र तापक्रम वृद्धि भएको बताएको छ । साथै, अगस्टको पहिलो २० दिन पनि १९६१ देखि सबैभन्दा गर्मीको अवधिको रूपमा दर्ता गरिएको छ । अगस्ट ११, १६ र १७ तारिखहरू स्पेनमा १९४१ देखि रेकर्ड भएका सबैभन्दा गर्मी दिनहरूमा पर्दछन् ।

सन् १९७५ देखि अहिलेसम्म स्पेनमा ७७ पटक तीव्र तापक्रम वृद्धिसँग सम्बन्धित घटना देखा परेका छन् । तीमध्ये ६ वटा घटनामा औसत तापक्रमभन्दा ४ डिग्री सेल्सियस बढी वृद्धि भएको छ र तीमध्ये ५ वटा सन् २०१९ पछि देखिएका हुन्, जसले लामो समयदेखि तीव्र तापक्रम वृद्धि बढिरहेको देखाउँछ ।

सरकारको दैनिक मृत्यु अनुगमन प्रणाली अनुसार यस वर्षका तापक्रम वृद्धिका कारण एक हजामर १४९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, अत्यधिक तापक्रम वृद्धिसँगै स्पेनमा सबैभन्दा खराब वन आगलागीको स्थिति पनि देखा परेको छ । युरोपेली वन अग्नि सूचना प्रणालीका तथ्यांक अनुसार यस अवधिमा ४ लाख ६ हजार १०० हेक्टर जमिन जलेको छ, जुन सिंगापुरको क्षेत्रफलभन्दा करिब ५.५ गुणा ठूलो हो ।

वन आगलागीका कारण चार जनाको ज्यान गयो भने ३० हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो । अधिकांश विस्थापितहरू फिर्ता भइसकेका छन्, तर धेरै वन आगलागी अझै नियन्त्रण बाहिर रहेका छन् ।